Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

वातावरण

दोधारा–चाँदनी सुक्खा बन्दरगाह : वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन चाँडै

इकागज |
बैशाख २, २०७९ शुक्रबार १७:० बजे

फाइल फोटो

महेन्द्रनगर - कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशकअघिदेखि सुरु भए पनि कामको गति भने अहिले बढेको छ । विसं २०६४ मा सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको हो ।  

स्थानीयवासीले उठीबास हुने, मुआब्जालगायत विषयमा आशङ्का व्यक्त गर्दै उक्त क्षेत्रमा बनाउन असहमति जनाएपछि दोधारा–चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने तय भएको थियो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रको भोगाधिकार र स्रोत निश्चितताका लागि पहल भइरहेको बताए । 


वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन परामर्शदाताले तयार गरिरहेको जानकारी दिदैँ उनले डेढ महिनामा स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने गरी काम गरिरहेको बताए  । `परामर्शदाताले फिल्डमा स्थानीयवासीसित छलफल गरेर राय, सुझाव सङ्कलन गरिसकेको छ`, गजुरेलले भने, `वन मन्त्रालयले स्वीकृति दिनासाथ सुक्खा बन्दगाह निर्माणको ठेक्का लगाउनेलगायत कामको बाटो खुल्नेछ ।`

समितिले दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई प्राथमिकतामा राखेर काम दु्रत गतिमा अघि बढाइरहेको गजुरेलको भनाइ छ । सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरुयोजना यसअघि नै तयार भइसकेको छ । प्रस्तावित क्षेत्रमा करिब २८० बिघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्डलगायत संरचना निर्माण गरिनेछ । प्रस्तावित सुक्खा बन्दरगाह हाल महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि पारिपट्टी एक हजार २०० मिटरको दूरीमा पर्छ ।

त्यसैगरी केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले केही दिनअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाहको विषयले प्राथमिकता पाएको जानकारी गराएका थिए ।  `सुदूरपश्चिमकै महत्वपूर्ण योजनाबारे भएको छलफल सकारात्मक छ`, उनले भने । 

यस्तै दोधारा–चाँदनी नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले सुक्खा बन्दरगाहको काम चाँडै सुरु हुने बताए । यहाँ सुक्खा बन्दरगाह, महाकालीमा चार लेनको पक्की पुल र बेदकोटमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना भए सुदूरपश्चिमले विकासमा फड्को मार्ने उनको भनाइ छ । 

`केन्द्रबाट सुक्खा बन्दरगाहको टोली आएर छलफल गरेको थियो`, उनले भने, `स्थानीयस्तरबाट सबैले सहयोग गर्ने भन्दै चाँडो काम थाल्न अनुरोध गरिएको छ ।` उनले दुई सामुदायिक वनबाहेक छेउको बस्ती समाहित गर्नुपरे स्थानीयलाई उचित मुआब्जा दिनुपर्ने विषय पनि सुझावका रुपमा राखिएको बताए ।  रासस


Author

थप समाचार
x