वातावरण

जंगली हात्तीबाट गाउँलाई जोगाउन साइरन

इकागज |
बैशाख ६, २०७९ मंगलबार १२:२० बजे

फाइल फोटो

कञ्चनपुर - जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । 

चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो । `बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,` बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, `आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।`


साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । `साइरन बजेपछि हात्ती धपाउन सजिलो हुन्छ नै । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न पाउँदैन । हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति हुन पाउँदैन ।

`साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,` अध्यक्ष महराले भने, `हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।`सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । 

साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जङ्गली हात्तीको बथानले स्थानीय किसानको  खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ । 

साइरन जडानले जङ्गली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ । रासस


Author

थप समाचार
x