जात्रा-पर्व

हुँदा खाने र हुने खानेका तीज

तीज : पहिले पीडादायी मर्मस्पर्शी, अहिले भड्किलो, उत्ताउलो र फेसनदार

इकागज |
भदौ १०, २०७९ शुक्रबार १४:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नाचगान गर्ने, मीठो मसिनो खाने र साथी सँगिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ ।

तीज हिन्दू नारीहरूले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ ।  


महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीय रूपमा विभाजन भएको स्वीकार्छिन् । समाजमा हुने खाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरक-फरक रूपमा मनाउन थालिएकामा उनी चिन्ता व्यक्त गर्छिन् ।

मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टी प्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेय पदार्थमा रम्‍न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् । 

'हुने खाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादउन्मुख समाज वा राष्ट्रको परिकल्पना हो,' अगुवा नेत्री प्रतिभा सुवेदीले भनिन्, 'संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र शालिनता पूर्वक पारस्परिक सद्भाव फैलिने गरी मनाउनुपर्छ ।'    

तीजको वास्तविक स्वरुप परिवर्तन भएको छ । संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भन्छन्, 'आफ्ना मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गी रूपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो ।'

पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वन पखेराबाट गुन्जिन्थ्यो । आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टी प्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरूले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ ।    

विश्वका हरेक देशका आ-आफ्नै संस्कृति/वेषभूषा तथा परम्परा हुन्छन् । मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् । तिनीहरुको संरक्षण/सम्वर्द्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्छन् ।

तीज भाद्र शुक्लबाट सुरू भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरू भइरहेका छन् । जो संस्कृतिका नाममा विकृति हो । हुने खाने वर्गले एक हप्तासम्म तीज मनाउँदै आएका छन् । हुँदा खाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् ।   

शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आमाले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । 'पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत/मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइती तर्फका साथी सँगिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ,' ८२ वर्षीया महिला गोपिनी कार्कीले भनिन् । 
 
पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्दथ्यो । वर्ष दिनका लागि एक दिन तीजमा मीठो मसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो । वर्ष दिनमा एक दिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आफ्नाे पतिलाई खुसी राख्नु पर्दथ्यो । पछि आफैँले गर्नुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो । रासस


Author

थप समाचार
x