दुई वर्षपछि गोकर्णेश्वरमा जम्मा भए लाखौँ भक्तजन
फाइल तस्बिर
काठमाडौँ- दुई वर्षपछि गोकर्णेश्वरमा लाखौँ भक्तजनले निर्धक्कसँग दिवङ्गत पितृप्रति श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् ।
विसं २०७७ र २०७८ मा कोरोनाका कारण भक्तजन मन्दिर क्षेत्रमै प्रवेश गर्न पाएका थिएनन् । विसं २०७७ मा मन्दिर क्षेत्र नै सिल गरिएको थियो । विसं २०७८ मा केही भक्तजन मन्दिर क्षेत्र प्रवेश गरे पनि केही समयमै प्रहरीले हटाएको थियो । विगत दुई वर्षका तुलनामा यो वर्ष कोरोनाको त्रास कम भएको र धेरैले खोप लगाइसकेकाले धेरै भक्तजन जम्मा भएर दिवङ्गत पितृप्रति श्रद्धा प्रकट गरेका हुन् ।
उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दुई वर्षपछि विशेष मेला लाग्यो । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान गरेमा २१ पुस्ताका पितृ तर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
चारवटै नाकाबाट गरी करिब डेढ लाख भक्तजनले यस क्षेत्रमा आज पितृप्रति श्रद्धाभाव प्रकट गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । मेलाका कारण आज जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधन बन्द गरिएको थियो । जोरपाटीबाट नारायणटार हुँदै साँखु जाने सवारीसाधन पनि प्रभावित भएको उनले सुनाए ।
‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दिन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत लाखौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।
मनाइयो कुशे औँसी (गोकर्णे औँसी)
वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षभर देव एवं पितृकार्यका लागि आवश्यक कुश आज घरघरमा भित्र्याएका छन् । भाद्र कृष्ण औँसीका दिन आज शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । कुश राखेको पानी शुद्ध हुन्छ भन्ने मान्यता छ । यसैगरी कुश रोपेको वरपर कीरा फट्याङ्ग्रासमेत नआउने वैज्ञानिक रुपमा समेत प्रमाणित भएको छ ।
मनाइयो पितृ सम्मान दिवस
यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बाबुको मुख हेर्ने पर्वसमेत मनाएका छन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका थिए ।
शनिबारको सार्वजनिक बिदाको दिन भए पनि आज पितृ सम्मान दिवस परेकाले सडकमा चहलपहल बढेको देखिन्थ्यो । नेपाली महिलाको महान् पर्व तीज नजिकिएकाले पनि मानिस बजारमा किनमेल गर्न निस्किएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया