जात्रा-पर्व

चेपाङ समुदायले आज न्वागी मनाउँदै, तीन जिल्लामा सार्वजनिक बिदा

इकागज |
भदौ २२, २०७९ बुधबार ८:८ बजे

मकवानपुर - आज चेपाङ समुदायले न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रूपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।

आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले आज सार्जनिक बिदा दिएको हो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागू हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो ।


नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते प्रदेशको चेपाङ बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यी ३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो ।

विगत वर्षमा झै चेपाङ संघले आज बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले पर्वको सबै तयारी पुरा भएको बताए । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।

प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएकोले सामूहिक रुपमा पर्व मनाउँदै महत्वबारे चर्चा गर्ने गरिएको छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ ।

सामूहिक रुपमा भोजन गरेर, रातभर रमाइलो गरेर जागा बस्ने गरीन्छ । लोपोन्मुख चेपाङ जातिले भीरपाखाबाट कन्दमुल र फलफूलहरु संकलन गरेर छाक टार्ने गरेको भएपनि यस दिन मिठो खाने र रमाउने गरेको प्रदेश साँसद सन्त चेपाङले बताए । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको साँसद चेपाङले बताए । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा 'छोनाम' भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ ।

बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । बागमती प्रदेश बाहेक गोरखालगायतको जिल्लाहरुमा पनि चेपाङको बसोबास रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सूचीकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ ।

आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि न्वागीपर्व विशेष महत्वका साथ मनाइएको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् पूर्व गोविन्दराम चेपाङले बताए ।

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री ९पान्दे० हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरू भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरूले कुखुराका बली समेत दिने गर्छन् ।

दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्रीद्वारा पितृ पूजा रातभरि गरेपछि भोलि ‘बारना’ गरेर चाड समापन गरिँदैछ ।


Author

थप समाचार
x