जात्रा-पर्व

वर्षाका देवता इन्द्रको पूजा-आराधना गरी मनाइयाे इन्द्रजात्रा

इकागज |
भदौ २४, २०७९ शुक्रबार १८:१ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ ।

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा-आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरे ।


विभिन्न देवी-देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी-देवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी-देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ ।

लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।


Author

थप समाचार
x