जात्रा-पर्व

जनकपुरमा छठको चहलपहल (तस्बिरहरू)

इकागज |
कात्तिक १२, २०७९ शनिबार १०:४२ बजे

तस्बिर : विमल आचार्य

काठमाडौँ- छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यसदिन  व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । 


शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । 

यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे । 

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

जनकपुरमा छठको तयारी
छठका लागि जनकपुरधामको विभिन्‍न ठाउँहरू भव्य रूपमा सजाइएको छ । जनकपुरका विभिन्‍न ठाउँहरूमा निकै चहलपहल छ । जनकपुरधामको गंगा सागर,धनुषाक्षेत्र, अंगराज सर,विषहरा पोखरी, दशरथ तलाउलगायत छठ पूजाका लागि भव्य रूपमा सजाइन्‍छ । यसै सन्दर्भमा जनकपुर पुगेका इकागज विमल आचार्यले जनकपुरमा छठको चहलपहलबारे केही तस्बिरहरू खिचेका छन् ।


Author

थप समाचार
x