जात्रा-पर्व

काठमाडौँको विभिन्‍न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

इकागज |
कात्तिक १२, २०७९ शनिबार १५:३६ बजे

काठमाडौँ- काठमाडौँको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ ।

छठ पर्वको मुख्य दिन भोली (आइतबार) छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरूमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । कुपन्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताए । उनले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए ।


काठमाडौँको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आइतबार (भोलि) छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।


Author

थप समाचार
x