जात्रा-पर्व

विराटनगरमा छठ

नदी र तलाउका किनारबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

बाबुराम भण्डारी |
कात्तिक १३, २०७९ आइतबार १८:३ बजे

विराटनगर- छठ पर्वको मुख्य दिन आइतबार साँझ विराटनगरका नदी, नहर र तलाउ किनार पुगेका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । सूर्य अस्ताउनुपूर्व नदी, नहर र तलाउ किनारमा बनाइएका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । विराटनगरको पूर्वी किनारामा पर्ने सिंघीया, पश्चिममा केसलिया, मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहर, बुढी खोलासम्मै पुगेर भक्तजनहरूले सूर्यलाई अर्घ्य चढाएका छन् । अर्घ्य चढाएपछि श्रद्धालुहरू घाटमै जाग्राम पनि बस्ने गर्दछन् ।


हिन्दू धर्मावलम्बीहरूका लागि सूर्यको आराधनासँग जोडिएको मुख्य पर्व छठ हो । छठ पर्वको मुख्य रौनक अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु हो । अर्घ्य दिएर सूर्यको स्तुतिले चिताएको मनोकामना पूरा हुने विश्वास गरिन्छ । सोही विश्वासकै आधारमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवासहितका परिकार सूर्यलाई अर्घ्यसँगै चढाउने गरिन्छ । सकेसम्म पानीमा घुँडासम्म डुबेर सूर्यलाई अर्घ्य दिँदै आराधना गर्ने गरिन्छ ।

शनिबार पञ्चमी तिथिमा भक्तालुहरूले ‘खरना’ व्रत लिएका थिए । खरना समापनपछि व्रतालुहरूले नुहाईधुवाईपछि चोखो भएर घरको नयाँ चुल्होमा पकाइएको खीरलाई प्रसादका रूपमा प्रयोग गरेका हुन्छन् । कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्‍तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । सोमबार विहानै भक्तालुहरूले त्यसरी अर्घ्य दिएर ब्रतसँगै छठ पर्वको समापन गर्दछन् । मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिक्कै जाँगरका साथ मनाउन थालिएको छ । तराईमा पनि मैथिली भाषीसहित सबै समुदायले श्रद्धाका साथ छठ पर्व मनाउँदै आएका छन् ।

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x