जात्रा-पर्व

प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना

इकागज |
कात्तिक १३, २०७९ आइतबार १८:११ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन् ।

आइतबार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन् । सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि थापाथलीस्थित वागमती नदी किनार झकिझकाउ पारिएको छ ।


आज छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ । सर्वसाधारणहरूले छठ पूजा स्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् । देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन काठमाडौँलगायत देशका अन्य स्थानमा छठ घाट पनि सजाइएको थियो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजा स्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्य पुराणलगायत ग्रन्थमा वर्णित छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ । 


Author

थप समाचार
x