बढ्दो आधुनिकताले हराउँदै होलीको मौलिकता
जनकपुरधाम । प्रेम र सद्भावको प्रतिक रहेको होली अर्थात होरी पर्वको मौलिकता बढ्दो आधुनिकताका कारण हराउँदै गएको छ ।
तराई मधेशमा होली पर्वमा गाइने लोकगीत होरैया र जोगिरा, बाँसको पिचकारी, डम्फा वादन, हास्यव्यंग्यसहितको कविता वाचनमा हँसी ठट्याैली र एक अर्काको घरमा गएर होली खेल्नेसहितका मौलिकता एक दशक यता देखिन छाडेकाे हाे ।
होलीमा मनोरञ्जनका लागि पहिला भाङ खाने परम्पराको ठाउँ अहिले वर्तमान अवस्थामा मदिरा सेवन गरी लट्ठ हुने, डम्फाको तालमा हरैया गीतमा झुम्ने प्रवृत्तिका ठाउँमा अहिले डिजेमा अश्लील भोजपुरी गीत बजाएर नाचगान गर्ने परम्परा बढेको हो ।
वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराई मधेशमा गाईने होरैया तथा जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । मधेसका ग्रामीण बस्तीहरुमा जताततै सुनिने होरैया तथा जोगिरा लोप हुँदै गएपछि सांगठनिक रुपमा केही संघ संस्थाहरुले विशेष कार्यक्रम आयोजना गरी त्यसलाई जीवन्त राख्ने प्रयासमा भने केही जुटेका छन् । यसमध्ये जनकपुरधामस्थित गैर सरकारी संस्था मिथिला नाट्य परिषद् कला (मिनाप) पनि एक हो । मिनापले प्रत्येक वर्ष होरी महोत्सव कार्यक्रम आयोजना गरी होरैया तथा जोगिरा गीत, हास्यव्यंग्य कविता वाचन गरी निरन्तरता दिदैं आएको छ ।
होली पर्वमा तराई मधेशका प्रत्येक गाउँ र बस्तीमा होरैया (गायक)हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता बाजाको प्रयोग गरी जोगिरा गीत गाउने प्रचलन छ । जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो । तर ती गीतहरु सुनिन छोडिएकामा प्रदेश सभा सदस्य शेषनारायण यादवले चिन्ता व्यक्त गरे ।
उनी भन्छन् ‘पहिला हामी गाउँमा युवाहरु भेला भएर होरैया टिमसँग प्रत्येक घर र दलानमा घुम्ने गर्थ्याैं । भाङको नशामा झुम्दै त्यहाँ होरैया र जोगिरा तिनीहरुसँग गाउँदै नाच्थ्यौं । जसको घरको दरवाजा र दलानमा बस्थ्यौं ती घरमूलीले रंग अबिर लगाई दिने भाङसँगै पुवा पुरीसहितका सामग्री खान दिइन्थ्यो। तर ती मौलिकता अहिले शहर बजार त के गाउँमै देखिन्न छाडेको छ ।’
यही अवस्था विद्यमान रहे आउँदो दिनमा होलीको मौलिकता पूर्ण रुपमा लोप हुने उनी बताउँछन् । यसको संरक्षणका लागि सामाजिक अभियन्ता र जनप्रतिनिधिहरुले विशेष जोड दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
बेरोजगारी समस्याले युवाहरु विदेशिने र गाउँघरमा रहेका युवाहरु होलीको मौलिक शैली भत्काउँदै आधुनिक शैली अपनाउनु र प्रविधि विकासले मौलिकता हराउँदै गएको छ । यसमा संस्कृति संरक्षकहरुले चासो लिन जरुरी रहेको मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य परमेश्वर साह बताउँछन् ।
होलीको मौलिक गीतमा कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, प्रेम सद्भाव तथा उन्मुक्ति लुकेको हुन्थ्यो । तर, आधुनिकताको प्रवेशसँगै भोजपुरी भाषाको अश्लील उच्छश्रृंंखल गीतले बजार पाउन थालेपछि लोकगीतको रुपमा रहेका होरैया गीत हराउन थालेको उनको भनाइ छ ।
‘जोगिरा सर...र...र... कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग....कौन तालपर गोरिया नाचे, कौन तालपर हम’ गीत नै को ठाउँमा अहिले ढोरी सतरंगी कइले बा, भोजी तोरा चोली मे डालेम लगायतका भोजपुरी भाषाका अश्लील गीतहरु बजार पाउनु मिथिला संस्कृतिका भावी चुनौती रहेको वरिष्ठ पत्रकार विरेन्द्र रमण भन्छन् ।
यस्तै नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले गाउँको बसाई शहरतिर र युवाहरु बेरोजगारी समस्या वैदेशिक रोजगारमा पलायन भएका कारण पनि यस्तो अवस्था आएको बताउँछन् । ‘शहरमा सबै आ आफ्नै कामले व्यस्त भएकाले होलीमा गाइने होरैया र जोगिरासहितका गीतको मौलिकता लोप हुँदै गएको छ । यसका साथै बाँसको पिचकारीको कुरा हो अब प्रविधि विकासले प्लास्टिकका आधुनिक प्रकृतिका पिचकारी बजारमा भेट्न थालेपछि त्यो हराउन गएको हो ।’ उनले भने ।
होलीको संस्कृतिको मौलिकता लोप हुँदै गएकोमा मिनापका कलाकार संस्कृति प्रेमी सुनिल मिश्रले युवामा पुस्तान्तर खाँचोले मौलिकता हराउँदै गएको बताए । ‘गाउँघरमा अब बूढापाका रहेनन् युवाहरु रोजगारका लागि विदेशिन थालेपछि त्यसलाई निरन्तरता दिन पुस्तान्तर हुन नसक्दा होलीमा देखिने मौलिकता हराउंदै गएको हो,’ उनी भन्छन्, ‘तर त्यसलाई हामी मिनापकर्मीले निरन्तरता दिन प्रत्येक वर्ष होरी महोत्सवको माध्यमले गाउँघरबाट होरैया टीम मगाएर कार्यक्रमको माध्यमले प्रस्तुत गर्दै आएका छौं, तर त्यो पर्याप्त छैन यसमा सबैले चासो लिन जरुरी छ ।’
प्रत्येक वर्ष झै यसवर्ष पनि जनकपुरधामसहित मधेश प्रदेशका जिल्लाहरुमा मिथिला मध्यमा परिक्रमाको भोलिपल्ट होली मनाउने परम्परा अनुसार बुधबार होली पर्व मनाइने भएको छ । पहाडमा सोमबार नै होली मनाइएको छ भने तराईका अन्य जिल्ला तथा भारतका विभिन्न ठाउँमा होली आज मनाइदैंछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया