जात्रा-पर्व

बिस्केट जात्रा : हात नभएको लिङ्गो ठड्याइयाे

इकागज |
चैत ३०, २०७९ बिहीबार १४:१९ बजे

भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा) अन्तर्गत बिहीबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ ।

पुरानो वर्षको बिदाई र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योः लाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ ।


भैरवनाथको प्रतीक मानिने योसिँद्योः को शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योः को कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ ।

जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्‍याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, सम्बृद्धि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।


Author

थप समाचार
x