जात्रा-पर्व

थिमिकाे सिन्दूर जात्रा [भिडियाे]

इकागज |
बैशाख २, २०८० शनिबार १५:७ बजे

भक्तपुर- भक्तपुरको मध्यपुर थिमिमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो ।

थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।


यसैगरी विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ । थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको भएपनि पछिल्लो समय खटको सङ्ख्या घट्दै गएको छ । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो ।

सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको थियो । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ ।

मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

 


Author

थप समाचार
x