जात्रा-पर्व

जिब्रो छेड्ने जात्रा

२७ वर्षीय सुजनले पहिलो पटक जिब्रो छेडे

इकागज |
बैशाख २, २०८० शनिबार १५:५९ बजे

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलो पटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिबार उनले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो । यसअघि सुजका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक जिब्रो छेडाइसकेका छन् भने यस वर्ष सजनले जिब्रो छेडेका हुन् ।


चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्विप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।


Author

थप समाचार
x