जात्रा-पर्व

श्रद्धा भक्तिका साथ मनाइयाे मातातीर्थ औँसी

इकागज |
बैशाख ७, २०८० बिहीबार १४:१४ बजे

काठमाडौँ- मातातीर्थ औँसी बिहीबार श्रद्धा भक्तिका साथ मनाइएको छ ।

यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् ।


‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । यस अवसरमा काण्माडौँको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लागेको छ ।

मेला भर्न हजारौंको संख्यामा भक्तजनहरू मातातीर्थ पुगेका थिए । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरूले गाईबस्तुहरू चराउने मैदान थियो । उक्त स्थानमा आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो ।

यो कुरा अरु गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याएको संस्कृतिविद्‍हरूको भनाइ छ । आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’को मूर्ति समेत स्थापना गरिएको छ ।


Author

थप समाचार
x