गुरही पर्व मनाउँदै थारु समुदाय
कैलाली । थारु समुदायले आज गुरही पर्व मनाउँदै छन्। पश्चिम तराईमा बसोवास गर्ने थारु समुदायले नाचगानसहित गुरही पर्व मनाउने गर्दछन्। गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन्।
यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ। बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन्। फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ।
यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ। गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ। यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ। गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ।
सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको बताइन् । गुरहीको अवसर पारेर धनगढीस्थित गुरही चौकमा गुरहीको मूर्ति शिलान्यास गरिने अध्यक्ष चौधरीले बताइन ।
गुरही पर्वको अवसरमा आज कैलालीक १३ स्थानीय निकाय मध्ये चुरे र मोहल्यान गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहले स्थानीय बिदा दिएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया