जात्रा-पर्व

ओझेलमा परेको मिथिलाको लोकनृत्य ‘झिझिया’ को लोकप्रियता बढदै

इकागज |
कात्तिक २, २०८० बिहीबार २०:२० बजे

जनकपुरधाम - केही वर्षयता ओझेलमा पर्दै गएको दशमीमा जादूटोनाबाट बच्ने मिथिलाको लोकनृत्य झिझिया स्थानीय संघ संस्थाको पहलमा जोगिन थालेको छ । 

केही वर्षदेखि विजयादशमीको अवसरमा विभिन्न शक्तिपीठहरुमा स्थानीय संघ संस्थाहरुले आयोजना गर्ने पूजनोत्सवमा झिझिया नृत्य गराउन थालेपछि यसको लोकप्रियता बढदै गएको छ । अहिले दशैंमा प्रत्येक चोक चोकमा माता राजदेवीदेखि बौद्धी माई लगायत दर्जनौ शक्तिपीठहरुमा सांस्कृति कार्यक्रमको रुपमा झिझिया नृत्य गरिदैछ । झिझिया नृत्य हेर्न शक्तिपीठहरुमा सयौंको भीड लाग्ने गरेको छ । 


दशैं बाहेक विभिन्न राजनीतिक र सांगठनिक कार्यक्रमहरुमा समेत झिझिया नृत्यलाई विशेष स्थान दिन थालिएको छ । तराई मधेशका दलित समुदायका मुसहर जातिका महिलाले गर्ने यो लोकनृत्य उनीहरुको रोजगारको माध्यम समेत बन्न थालेको छ । अहिले झिझिया नृत्य गर्ने महिलाहरुलाई फुर्सत छैन । एक दिनमा ३/४ वटासम्म सट्टा भ्याई दिन्छ । 

यो नृत्य मुसहर जातिको पूर्वजदेखि गरिदैँ आएको परम्परा र पेशा पनि हो । अहिले एउटा सट्टाको दशैंभरिको पचास हजार रुपैयाँसम्म लिने गरिएको छ । सामूहिक रुपमा गरिने यो नृत्यमा ५/६ जनाको समूह हुन्छ । दशैं अवधिभरिमा झिझिया नृत्य गर्ने एउटा महिला २५/३० हजार रुपैयाँसम्म कमाउने गरेको छ । मुसहर जातिका लागि परम्परा र पेशा भएपनि यस नृत्यलाई जादूटोनाबाट बच्ने माध्यमको रुपमा लिने गरिन्छ । 

घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा गरिने यो झिझिया नृत्य मुसहर जातिका लागि परम्परा नभइ मिथिलाको पनि परम्परा हो र यसले बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका हुने गरेको झिझिया नृत्य गर्ने महिला बचियादेवी सदा बताउंछिन । 

यस्तै अर्का झिझिया नृत्य गर्ने महिला लसियादेवी सदा भन्छिन हाम्रो पूर्वजैदेखि गरिँदै आएको यो झिझिया नृत्य हाम्रा लागि पेशा भएपनि समाजका बालबालिकाहरुलाई धामी झाक्री र बोक्सीको जादूटोनाबाट बचाउने अचूक उपाय पनि हो । 

झिझिया मिथिलाञ्चलमा गरिने लोक नृत्यहरुमध्ये एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसंगै समापनसम्म मिथिलाको यो लोकनृत्य गर्ने गरिन्छ । तराई मधेशका दलित समुदायका मुसहर जातिका महिलाद्वारा गरिने यो नृत्य पूर्णतान्त्रिक विधि अनुसार गरिन्छ । 

यो नृत्य एक विशिष्ट प्रकारको कला पनि हो । यो नृत्य गर्न सबैसँग सम्भव हुँदैन । सयौं प्वाल पारिएका घैटोंभित्र दिप बालेर टाउकोमा ६÷६ वटासम्म राखेर नृत्य गरिन्छ । नृत्य गर्दासम्म ती दिप बुझ्न नपाउने र घैंटोमा पारिएका प्वाल कसैले गनन नपाउने परम्परा रहेको कारण यो नृत्य गर्नु सबैसँग सम्भव हुँदैन । 

बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो टाउकोमा गरिने नृत्य वैदिक र तान्त्रिकसँग सम्बन्धित रहेको छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कालान्तरमा मिथिलामा झिझिया नृत्य रहेको संस्कृतिविद  डा. राजेन्द्र विमल बताउँछन् । यो मिथिलामा मात्र नभइ राजस्थानमा समेत गरिन्छ । 

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकोमा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भूत  वातावरणको निर्माण भएको हुनाले यो अन्धविश्वास नभई यसभित्र गहिरो दर्शन लुकेको उनको भनाई छ । झिझिया लोकनृत्य तराई मधेशका धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका पूर्वदेखि पश्चिमसम्मका जिल्लामा गरिने गरिन्छ । नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतको मिथिला क्षेत्रमा समेत गरिन्छ ।


Author

थप समाचार
x