वागेश्वरीमा सामूहिक गाई पूजा
भरतपुर- भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौः पूजा सुरु गरिएको हो ।
लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यस वर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौः आरती गरेर गौः पूजाको सुरुआत गरे । सो अवसरमा उहाँले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैं पूजा गर्नुपर्नेमा जोड दिए ।
सामूहिक गौः पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रूपमा गौः पूजा गर्न थालिएको हो । गाईको वैदिक रूपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । यहाँ सामूहिक गौः पूजासँगै गोवर्द्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताए ।
यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आएका थिए । उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । गौः पूजाको अवसरमा योगी नरहरिनाथ गौः संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूवअध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौः संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशङ्कर अग्रवाललगायतलाई सम्मान गरिएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया