जनकपुरधामसहित मिथिलाञ्चलमा मनाइयो गोधन र भातृद्वितीया
जनकपुरधाम- तिहारको अन्तिम दिन जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा एकै दिन गोधन र भातृद्वितीया पर्व मनाइएको छ । यमपञ्चकको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइने परम्परा रहेको छ । गोधनको सम्बन्ध भातृद्वितीयासँग रहेको छ । जनकपुरधामसहित मिथिलाञ्चलमा गोधन सशित भैयादूज, भरदूतिया र भाइटिकाको नामले प्रचलित भातृद्वितिया पर्व पनि मनाइएको हो ।
गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ । महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेशमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई अराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ । गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ ।
गोधन पूजा गरेमा गाई वस्तु लगायतका पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ । पर्वका दिन गाई, गोरुका सिङ् , खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ । गोधन पर्वसंगै मिथिलाञ्चलमा आस्थाको महापर्व छठ पर्वको तयारी समेत शुरु हुन्छ ।
प्राचीन काल द्वापर युगमा व्रजवासी वर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्थे । व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षडरसपूर्ण छप्पन भोग, छत्तीस व्यञ्जन भोग लगाउने गर्थे । सोही दिन भगवान श्री कृष्णले ईन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए । यो देखेर भगवान ईन्द्र कुपित भएर मूसलाधार बर्षा गराए जसबाट पूरै व्रज डूब्न लाग्यो । त्यसपछि भगवान श्री कृष्णले गोप र गोपीहरूलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए ।
सोही दिनबाट व्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्धनलाई पूजा अर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ भएको किम्बदन्ती छ । गोवर्धन पूजा नै कलान्तरमा गएर मिथिलाञ्चलमा गोधन पर्व बन्न गएको जनविश्वास रहेको छ ।
भातृद्वितीयामा बहिनीको निम्तोमा भाइ बहिनी कहाँ गएर न्यौत लिने गर्छन् । यसपर्वमा दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् ।
भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ । दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै ‘यमुना न्यौतल अपन भाइ के तहिना हम न्यौती अपन भाइ के ...’ मन्त्र पढ्दै बहिनीले भाइको दिघार्यु कामनासहित पूजा गर्छन् ।
त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना मात्र होइन मिठाई संगै बजरी (केराउ) खुवाउँछिन् । बजरी खुवाउँदा बजरी जस्तै दाजुभाइ बज्रको सामान हुने मान्यता रहेको छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार स्वरुप नगद रुपैयाँ, गरगहना र कपडा लता लगायतका सन्देश दिने गर्छन ।
यस्तो छ भातृद्वितियाको कथा
भगवान सूर्य नारायणको पत्नीको नाम छाया हो । छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो भाइ यमराजलाई अगाध स्नेह गर्थिन् । यमुनाले पटक पटक आफ्नो भाइ यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउनका लागि । तर, आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे ।
यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितीया तिथि आयो । यमुनाले सोही दिन भाइ यमराजलाई भोजनका लागि निमन्त्रणा दिएर घर आउन वचनबद्ध गरिन् । यमराजले सोचे म सबैको प्राण लिन्छु। मलाई कोही घर बोलाउन चाहँदैनन् । बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो । यमराजलाई आफ्नो घर आएको देखेर यमुना औँधी खुसी भइन । यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यंजन भाइ यमलाई खानका लागि दिइन् ।
यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने । यमुनाले भाइ यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । म जस्तै बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका लगाउने गर्छिन भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्केको र सोही दिनदेखि भातृद्वितीया पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया