जात्रा-पर्व

छठ पर्व : व्यापकता बढ्दै, मौलिकता हराउँदै

सुभाष कर्ण |
मंसिर २, २०८० शनिबार २१:५८ बजे

जनकपुरधाम- अहिले तराई मधेसको मिथिलाञ्चल क्षेत्रमा मात्रै नभई देशका संघीय राजधनीसहित पहाड र हिमालमा समेत छठ पर्वकाे व्यापकता बढ्दै गएको छ ।

सूर्य उपासनाको विस्तारित रूप कालान्तरमा छठ पर्व हो । नेपाल-भारतको बज्जिका संघका सदस्य मिथिला र वैशाली राज्यबाट सुरु भएको सूर्य उपासनाको छठ पर्व नेपालका मिथिलाञ्चल क्षेत्रमा मनाइने गरिन्थ्याे तर केही दशक यता तीव्र रूपमा यसकाे व्यापकता बढ्दै गएको छ । मधेसअनुहार बसोबास गर्ने देशका हरेक जिल्लामा याे पर्व मनाइँदै आइएको छ ।


सूर्य उपासनाको इतिहास नेपालसहित विश्वभरि नै कुनै न कुनै रूपमा हुँदै आएको छ । लिच्छवि कालदेखि नै नेपालभरि सूर्य पूजा हुँदै आएको हो । तर, छठको रूपमा व्यापकता अहिले बढेको हो । मिथिलाञ्चल क्षेत्रमा यसको आस्था र विश्वास बढेपछि यस भेगमा बसेका मानिसहरूले पहाड-हिमालमा समेत गएर मनाउन थालेका छन् । छठ पर्व लोक आस्थाको पर्व मात्र नभई यो धार्मिक एवं वैज्ञानिक महत्व, सामाजिकता, सांस्कृतिक सद्भाव, एकरूपता, आर्थिक र कृषि क्रान्ति जस्ता विषय समेट्ने महापर्व भएकाले पनि व्यापकता बढ्दै गएको बताइएकाे छ ।

दिनानुदिन छठ पर्वको व्यापकता बढ्दै गए पनि मौलिकता चाहिँ हराउँदै गएको छ । कृषि उपज र पछाडि परेका जातीय आर्थिक उत्थानसहित प्राथमिकता बोकेका छठ पर्व आधुनिकता बढेसंगै आस्था र निष्ठाको ठाउँमा प्रतिष्पर्धा बढ्दै गएको देखिन्छ । केराको बोट तथा अशोकका हाँगाले सजाउने गरिएको छठको घाट अहिले कृतिम कपडाको आकर्षक पण्डाल, विद्युतीय झिलिमिली बत्तीसहितका विभिन्न लाईटले सजाउन थालिएको छ  ।

पुरुष वा महिला वर्गले टाउको बाँसको छिट्टा, नाङ्लो लगायतमा प्रसाद सामग्री घाटसम्म महिला दिदीबहिनीहरूले घरबाटै लोकगीत गाउँदै जाने र घाटमा समेत अर्घ्य नउठेञ्जेलसम्म सामूहिक रूपमा गीत गाउने गर्थे, तर अहिले सो दृश्य हराएको छ । घरबाट गाडीमा प्रसाद सामग्री घाटसम्म लग्ने छठको लोक गीतको साटो आधुनिक गीत र डिजेका धुनमा घाटहरूमा चर्को साउण्डमा बजाउन थालिएको छ । आस्था र निष्ठाको सट्टा महिला दिदीबहिनीहरूमा फेसन प्रतिष्पर्धा हावी भएको छ । घर परिवारका सदस्यहरू संगै बसेर पूजापाठ गर्नुको सट्टा बूढापाका वा व्रतीहरू घाटमा बस्ने र महंगा-महंगा लुगा र गरगहना लगाएका दिदीबहिनीहरू घाटमा बसेर पूजापाठ गर्नुको सट्टा बजार घुम्ने दृश्य छठका दिन जताततै देखिन्छ । यसले मौलिकताभन्दा पनि प्रतिष्पर्धा देखिन्छ ।

छठ पर्वको प्रमुख विशेषता माटोको चुल्होमा भुसुवा (चामल र सक्खर मिश्रित लड्डु), ठकुवा -गहुँ पिठो र सक्खर मिश्रित परिकार) बनाइन्थ्यो । भुसुवा र ठकुवाको लागि पिठो जाँतामा महिला, दिदीबहिनीले गाउँदै पिस्ने गर्थे । भुसुवाका लागि गम्हरी जातका धानको चामल प्रयोग हुन्थ्यो । तर, अहिले आधुनिकता बढेसँगै माटोको चुल्होको सट्टा एलपीजी ग्यास चुल्हो प्रयोग गर्ने गरेको देखिन्छ । शुद्धताका लागि ती चुल्होलाई धोएर प्रयोग गर्ने गरिन्छ । भुसुवा र ठकुवाको पिठो जाँताभन्दा पनि मिलमा पिसिने गर्छ । यस प्रक्रियाको बीचमा मौलिकता झल्किने गाइने गीत पूर्ण रूपमा हराएको छ ।

वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘आधुनिकताको प्रभावले छठ पर्व पनि अछुतो रहन सकेको छैन । यसले व्यापकता र नवीनता त ल्याएको छ, तर मौलिकता चाहिँ हराउँदै गएको छ । अहिले चाहिँ आस्था र निष्ठाभन्दा पनि प्रतिष्पर्धा बढेको देखिन्छ । उनले भने, 'पहिला बाँस र माटोको भाँडो प्रयोग गरिन्थ्यो तर अहिले तामा, पित्तल र स्टिलको भाँडा प्रयोग गर्न थालिएको छ । छठ पर्वको सबै प्रसाद सामग्री माटोको भाँडोमै बनाइने गरिन्थ्यो, र प्रसाद सामग्री बाँसबाट निर्मित छिट्ठा, नाङ्लो, पथियासहित माटोको ढकनी कुरबार राखिन्थ्यो । तर, ती मौलिकता अहिले हराएको छ, प्रसाद सामग्री समेत तामा, पित्तलको सामग्रीमा राख्न थालिएको छ । एक व्यक्तिले तामा, पित्तलको भाँडो प्रयोग गरेपछि अर्को छिमेकी पनि सोही प्रकारका त्यो भन्दा महँगा र ठूला भाँडो प्रयोग गर्ने प्रतिष्पर्धा बढेको देखिन्छ ।'

पहिला चाहिँ केराको बोट र अशोकको पातले घाट सजाई त्यसमा दीप वा विद्युतीय बत्ती बालेर झिलिमिली बनाइन्थ्यो । त्यो दृश्य हेर्दा छठ पर्वको मौलिकता देखिन्थ्यो । तर, अहिले त शहर बजार मात्र नभई गाउँघरमा समेत कपडाको आकर्षक पण्डाल बनाएर विद्युतीय लाईट झिलिमिली बनाउन थालिएको उनको भनाइ छ ।

स्थानीय संघ संस्थाहरू हावी भएपछि लाखौँ खर्चेर चन्दा संकलन समेत गर्न थालेका छन् । एकभन्दा अर्को कम छैन भन्ने प्रतिष्पर्धा संघसंस्थाहरूबीच घाट सजाउनमा देखिन्छ । कयौं ठाउँमा त आस्थाको पर्व भनिएका छठ पूजा व्यवस्थापन र घाट सजाउने नाममा चन्दा संकलन गरी कमाइको माध्यम नै बनाएका छन् ।

बाल्यकालमा आमा बुवासँग गर्दै आएको छठ, त्यस पछि आफ्ना छोराछोरीसँगको छठ र हाल नातिनातिनासँग मनाउने गरिएको छठमा ठूलो परिवर्तन देखिएको ६५ वर्षीय जनकपुरधामकी शुशिला देवी बताउँछिन् । उनले पनि अहिले छठ पर्वको व्यापकता त बढेको छ र तर मौलिकता हराउँदै गएको भन्छिन् । उनले हराउँदै गएको मौलिकताप्रति सचेत भई जोगाइएन भने आगामी दिनमा यो पर्व पनि नाममा मात्रको रहने बताइन् ।

यस सम्बन्धमा तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता एवं वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले समानता, समावेशिता र एकताको पर्व भनिएका छठ पर्वमा आधुनिकता बढेसँगै मौलिकता हराउँदै गएको बताउँछन् । ‘त्यति बेलाको छठमा एउटा समानता थियो, समावेशिताको सन्देश थियो तर अहिले कतै-कतै समानता, समावेशिता उपर आधुनिकता हावी हुँदै देखिन्छ,' उनले पनि, ‘घाट सजाउनेदेखि लिएर प्रसाद सामग्री तयार पर्नेसम्ममा आधुनिकताका हावी भएको छ ।’

डुम जातिले बनाएको नाङ्गलो, कोनियाँ, ढकिया, कुम्हाल जातिले बनाएको हात्ती, ढक्नी, मालीले ल्याउने फूल, चमारले बजाउने बाजा छठ पर्वमा यी सबैको आ-आफ्नै महत्व रहेको थियो । तर, अहिले डुमले बनाउने नाङ्गलो, कोनियाँको ठाउँ प्लास्टिक, स्टिल तथा तामाका सामग्रीहरू प्रयोग, चमारको बाजाका ठाउँमा डिजे साउण्ड बजाउनु, मालिको फूलको ठाउँमा रेडिमेड प्लास्टिकका फूल बत्तीहरू प्रयोग भइरहेका छन् । यसले पर्वको मौलिकता मात्र नभई ती जातिहरूको अर्थोपार्जनमाथि समेत आधुनिकताले ठूलो प्रभाव पारेको उनको भनाइ छ ।

चार दिनसम्म मनाइने यो पर्व भाइटीकाको तेस्रो दिनबाट प्रारम्भ हुन्छ । यस वर्ष शुक्रबारदेखि विधिवत् रूपमा छठ पर्व सुरु भएको छ । शनिाबर खरना विधि गरिएको छ भने सोमबार अस्ताउँदो सूर्यलाई र मंगलबार उदाउँदाे सूर्यलाई अर्घ्य दिई सम्पन्न हुनेछ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x