३२ वर्षदेखि सफाइको पर्खाइमा लगनको '१२ वर्षे इनार'
काठमाडौँ- इनार, कुवा वा पोखरी कति समयमा सफा हुन्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ केही दिन, हप्ता, महिना वा वर्षमा । तर, कतिपय स्थानमा अनुमान गरेका कुराहरू सही साबित हुन सक्दैनन् ।
काठमाडौँ महानगरपालिका-१२ मा अवस्थित एउटा इनार सफाइको पर्खाइमा छ । जहाँ वर्षौंदेखि स्थानीय नागरिक र सरकारको नजर नपर्दा ऐतिहासिक महत्व बोकेको इनारमा फोहोर थुप्रिन थालेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको इनार विभिन्न कारणले सफा हुन सकेको छैन ।
स्थानीय बाबुराजा बज्राचार्यले ३२ वर्षदेखि इनार सफा नगरिएको बताए । स्थानीयहरूले नै चासो नदिँदा इनारको संरक्षण हुन नसकेको उनको भनाइ छ ।
'स्थानीय र गुरुलाई पटक-पटक इनार सफा गरिदिन भनेका छौं,' उनले भने, 'अहिलेसम्म सरोकारवाला निकायले वास्ता गरेका छैनन् ।'
उनका अनुसार तीन दशकअघि ९० हजार खर्च गरेर इनार सफा गरिएको थियो । त्यति बेला राजाहरूले पनि पैसा पठाउँथे । इनार खुल्ला थियो । बच्चाहरूले ढुंगा, माटो फालेर फोहोर बनाएका थिए । सफा गर्न धेरै समय लागेको थियो ।
उनले हालसम्म इनार सफा गर्न नसकिएकोमा दुखेसो पोखे । विभिन्न कारणले इनार सफा हुन नसकेको उनी बताउँछन् ।
२०६० मा स्थानीय र गुरुहरूको विवादका कारण इनार सफा हुन नसकेको जिकिर गर्दै उनले भने, 'तर, २०७२ मा भूकम्पले सफा गर्न सकिएन । अब २०८४ मा के हुन्छ हेरौँ ।'
भोटेबहालबाट टेकु निस्कने बाटोमा पर्छ १२ वर्षे इनार । जप ध्यान तप गरेर बनाइएकाले यो इनारलाई नेवारी भाषमा 'जपटु' भनिन्छ । मञ्जु मञ्ज बज्राचार्यले जप गरेर इनार बनाएको किंवदन्ती छ ।
अन्य ऐतिहासिक सम्पदाको मिथक भनाइ भए जस्तै यसको पनि आफ्नै कथा छ । यो वि.स ७७६ सालमा यो कुण्ड थियो । त्यति बेला दीक्षित राजा थिए । दीक्षितको दरबार लगन आसपास थियो । राजा घुम्न जाँदा ढुंगे धाराको पानी खान्थे ।
एकदिन पानी खाँदा सँगसँगै सानो सर्प उनको मुखमा छिरेको भनाइ छ । त्यसपछि उनलाई असह्य पीडा भयो । पेट दुख्यो । आत्तिएर राजा यता उता गर्न थाले । बाटो हिँड्दा त्यहाँको पहेँलो, सेतो भ्यागुतो र नागले राजालाई भने, 'तपाईंले जुन पानी खानुभयो त्यही बेला खाएको पानी सँगसँगै सानो सर्प मुखमा पसेको छ । त्यही भएर पीडा भएको हो । यो कुण्डको तीन अञ्जुली पानी खाएर हेर्नुस् पेट दुख्न निको हुन्छ ।'
त्यस लगत्तै राजाले तीन अञ्जुली पानी खाए । पानी खानासाथ धेरै पीडा भएर त्यो सर्प तीन टुक्रा भएर राजाको मुखबाट निस्कियो । छोटा मह गल्ली त्यही सर्पको नाममा राखिएको किंवदन्ती छ । त्यस्तो पवित्र र अमृत कुण्डलाई संरक्षण गर्नुपर्ने राजाको रायअनुसार तत्कालीन अवस्थाका प्रख्यात तान्त्रिक मञ्जु मञ्ज बज्राचार्यले जप गरेर 'जपटु' को संरक्षण थालेको बताइन्छ ।
राजतन्त्रमा इनार सफा गर्ने दिन राजा नै उपस्थित हुन्थे । पछि भने राजाको प्रतीकको रूपमा तरबार पठाइन्थ्यो ।
इनार सफा गर्न धेरै समूह सक्रिय हुनुपर्छ । स्थानीयहरूको विभिन्न समूह छ । कुर्नै एउटा समूह मात्रै सक्रिय भएर विधिअनुसार इनार सफा गर्न सक्दैन । सबै समूहको छुट्टाछुट्टै काम हुन्छ । जस्तै, पानी भर्ने, तान्ने, सफा गर्ने र पूजा गर्ने आदि छुट्टाछुट्टै मान्छे हुनुपर्छ । उनीहरू सबै समूह सक्रिय नभएको बज्राचार्यले गुनासो गरे ।
के-के छ इनारमा ?
तल्लो भागमा ब्रम्हकलश राखिएको छ । ब्रम्हकलशमा ठ्याक्कै बस्ने गरी नागराजा लेखेर १०८ वटा तत्व (सुन, चाँदी, हिरा, मोती आदि) राखी गुरुहरूले तीन दिनसम्म पूजा गरेर चौंथो दिनको दिनमा कलश परिवर्तन गरिन्छ । पाँच वटा कलशमा एउटा पूर्ण कलश र अरू साना कलश हुन्छन् । त्यो फेरिसकेपछि मात्रै इनार सफा गरेको मानिन्छ । अर्थात् इनार सफा गर्ने भनेकै ब्रम्हकलश फेर्ने हो ।
इनार सफा गर्दा यहाँ ठूलो मेला लाग्छ । आफन्तहरू सबै जम्मा हुन्छन् । चेलबेटीहरूलाई पनि बोलाइन्छ । तर, काटमार भने गरिन्न । बलि प्रथा छैन । इनारमा नागराजा रहने हुँदा बलि दिइँदैन । लुभ्या ओभ्या (सेतो, पहेँलो भ्यागुता) लाई भने क्षमा पूजा गरिन्छ । किनकि भ्यागुता लक्ष्मीको प्रतीकको रूपमा मानिन्छ ।
पानी कहिले झिकिन्छ ?
इनारको पानी १२ वर्षमा मात्रै झिकिन्छ । सफा गर्ने समयबाहेक अरू बेला झिक्न नमिल्ने उनले बताए । यो पानीले विभिन्न रोगहरू निको हुने जनविश्वास छ । पानीलाई देश विदेश र स्वदेशकै विभिन्न ठाउँमा लैजाने पठाउने प्रचलन छ ।
जनप्रतिनिधि के भन्छन् ?
काठमाडौँ महानगरपालिका-१२ वडाध्यक्ष बालकृष्ण महर्जनले इनार सहजै सफा गर्न नमिल्ने बताए । सफा गर्न पनि विधि र प्रक्रिया हुने उनको भनाइ छ ।
'इनार सफा गर्न नित्य पूजा गर्नुपर्छ । गुरुहरू चोखो भएर केही दिनका लागि व्रत बस्नुपर्छ,' उनले भने, 'सफा गर्नलाई पहल गरी गुरुहरूलाई भनिरहेका छौं । गुरुहरूले चासो दिनुभएको छैन । सफाइको धेरै लामो प्रक्रिया हुने भएकाले पनि सफाइमा ढिलाई भएको हो ।'
वडाले संरक्षण गर्न पहल मात्र गरिरहेको अध्यक्ष महर्जनले बताए । 'सफा गर्न नपरेकाले इनारका लागि भनेर बजेट नछुट्याएका हौँ,' उनले अगाडि थपे ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सांसद विकास कोषबाट बजेट परेको थियो । सोही बजेटको आधारमा इनार संरक्षण गर्न जाली लगाउने र चारैतर्फ भित्ता बनाइएको छ । सो रकमले पूरै निर्माण गर्न भने पुगेन । स्थानीयहरूले चन्दा उठाएर समेत इनार संरक्षणका लागि योगदान गरी संरक्षणका लागि पहल गरेका छन् ।
र,याे पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया