जात्रा-पर्व

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ गते

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ११:१३ बजे

ललितपुर- वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । 

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए । 


साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उनले भने, 'साउन १७ गते थती टोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्‍याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । '

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए । उनले भने, 'यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।'

यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छन् भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन् । शुभ साइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरू छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ । 


Author

थप समाचार
x