भक्तपुरमा गाईजात्राको तयारी तीव्र
फाइल फोटो
काठमाडौँ - भक्तपुरमा यस बर्षको गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ ।
भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो ।
भक्तपुरको दरबारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने बताए । नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीहरुलाई उत्साहित गर्नका लागि सबै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतिले भाद्र १ गतेसम्म सबै तयारी सम्पन्न गर्ने जानकारी दिए ।
त्यस्तै गाईजात्रा पर्वमा नगरभित्र रहेका तारहरूको व्यवस्थापनका लागि आग्रह गरिसकेको भन्दै समयमा नै तारको व्यवस्थापन नगरे नगर आफैले काट्ने उल्लेख गरे ।
भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ । भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने नगरपालिकाले जनाएको छ ।
भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्रा भन्दा भिन्न र मौलिक शैलीको रुपमा लिइन्छ । भक्तपुरको मुख्य आकर्षण घिन्ताङघिसी नाचलाई लिइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया