जात्रा-पर्व

वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो

इकागज |
असोज १७, २०८१ बिहीबार १६:१ बजे

१७ असोज, वीरगञ्ज - दुर्गापक्षअन्तर्गत पहिलो दिन वीरगञ्जको प्रसिद्ध मन्दिर गहवामाई भगवतीसहित जिल्लाका मन्दिरमा बिहानैदेखि दशनार्थीको घुइँचो लागेको छ । नवरात्रमा देवीका मन्दिरमा दर्शन गरी पूजाआजा गरेमा सुख, शान्ति प्राप्त हुने तथा विजयी भइने धार्मिक विश्वासका साथ जिल्लाका देवी मन्दिरमा दशनार्थीको घुइँचो लागेको हो ।

गहवामाई भगवती मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख, समृद्धि प्राप्त हुनुका साथै सफलता प्राप्त हुने धार्मिक विश्वासका साथ बिहानैदेखि दर्शन गर्न आउने भक्तजन घुइँचो लागेको बताए ।


गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेकामा घटस्थापनाको मुख्य पूजा भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार गरिएको पुरोहित उपाध्यायले जानकारी दिए ।

मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालक समितिका पूर्वअध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताए । ‘यहाँ वीरगञ्ज क्षेत्रका साथै छिमेकी मसलुक भारतको विहारबाट पनि भक्तजन आउने गर्नुहुन्छ भाकल गरेकाले पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ’, उनले भने ।

यहाँ अष्टमीको दिन बलि चढाउने परम्परा रहेको बताउँदै गुप्ताले यस वर्षको दुर्गापक्षमा करिब छ हजार दशनार्थीले बलि चढाउने अनुमान गरिएको जानकारी दिए । ‘मन्दिर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयंसेवक परिचालन गरेर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छौं’, उनले भने ।

साथै नवरात्रभरि वीरगञ्जका चोक तथा गल्लीमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघर चोक, रानीघाट, छपकैया, नगवालगायत खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिएको घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पुरोहित दिनबन्धु शुक्लाले बताए ।

घण्टाघरबाट घडासहितको कलश यात्रा सुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरी घण्टाघर चोक नजिकै दुर्गाको मूर्ति राखिएको ठाउँमा पूजा गर्ने स्थानीयको घुइँचो लाग्ने गरेको पुरोहित शुक्लाले जानकारी दिए ।


Author

थप समाचार
x