पितृको सम्झानामा दीप प्रज्वलन गरी नमोबुद्ध जात्रा सम्पन्न
काभ्रेपलाञ्चोक - नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूको ऐतिहासिक पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न भएको छ ।
कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएकाले आफ्ना पितृहरूको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरी जात्रा मनाएका हुन् । जात्रामा विशेष गरी तामाङ र नेवार समुदायका भक्तजनको उपस्थिति थियो ।
काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको धार्मिक विश्वासका साथ यस दिनलाई विशेष रूपमा मनाइँदै आइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए ।
“किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखका उल्लेख गरिएको छ”, लामाले भने, “द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको घुइँचो लाग्दछ ।”
मेलामा करिब एक लाख भक्तजनले नमोबुद्धको दर्शन एवं पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेहरूको पनि उल्लेख्य सहभागिता थियो ।
मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाका भक्तजनको सहभागिता रहेको समितिले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया