विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न
काठमाडौँ - जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ ।
जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो । रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए ।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गङ्गासागर पुगेका थिए । मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ । गङ्गासागरमा उत्तराधिकारी महन्तदासले माटो निकालेका थिए ।
मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, सङ्घीय सांसद जुली महतो, जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहलगायतको सहभागिता रहेको थियो ।
अतिथि एवं साधुसन्तलाई प्रदेशसभा सदस्य रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए । मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ । जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गङ्गासागर पुग्ने गर्छ । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।
जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ । शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचाौँ दिन मटकोर कार्यक्रम भएको हो । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया