कैलालीमा माघीको रौनक सुरु
फाइल फोटो
घोडाघोडी (कैलाली)- जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व तयारी पूरा भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् ।
थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।
पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेका घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले बताए। उनका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ ।
पर्वसँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्नेबारे छलफल सुरु भइसकेको चौधरीले जानकारी दिए। “गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज बिहानै स्नान गर्ने प्रचलन छ”, उनले भने ।
अध्यक्ष चौधरीका अनुसार आज नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उनले बताए।
पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिकास्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिकस्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिए। उनका अनुसार गत पुस २९ गतेदेखि सुरु भएको मेला यही माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारू संस्कृति झल्कने परम्परागत नृत्य, वेषभूषा तथा खानाको प्रदर्शन गरिनेछ । बुटका बाबा मेला भर्न कैलाली जिल्लासहित बर्दिया, दाङ, कञ्चनपुरबाट हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलियालगायत ठाउँबाट भारतीय नागरिक आउने उनले जानकारी दिए।
बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासले बताए।
यसैगरी आजै जिल्लाको गौरीगङ्गास्थित नुक्लीपुर घरबास ‘होमस्टे’मा मघौटा नाचका साथै घैँटो फोर कार्यक्रमको आयोजना गरिएको घरबास सञ्चालक दिनेश दहितले जानकारी दिए।
कैलालीको बर्दगोरिया धाममा पनि माघी मेलाको आयोजना गरिएको छ । जिल्ला धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने स्थानमा मेलाको आयोजना गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया