जात्रा-पर्व

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी संकलन

इकागज |
फागुन ५, २०८१ सोमबार २१:५० बजे

फाइल फाेटाे

चितवन - देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० संकलन भएको छ । 

आयोजक विश्वजागरण महाअभियान ट्रष्टले सोमबार देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम संकलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख संकलन हुन बाँकी छ । 


महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम संकलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।  

मातापिता आश्रम तथा देवघाट दिव्यधाम निर्माणार्थ आयोजना गरिएको महामहोत्सवमा संकलित रकममध्ये ट्रष्टको बैंक खातामा रु २५ करोड ७७ लाख १७ हजार छ सय पाँच र दान पेटिकामा रु एक करोड ६८ लाख ४० हजार तीन सय ७५ जम्मा भएको त्यस अवसरमा जानकारी दिइयो ।

महोत्सवको समयमा देवघाट क्षेत्रमा विभिन्न नौ वटा धार्मिक संघ संस्थाले यहाँ विभिन्न धार्मिक अनुष्ठान तथा आर्थिक एवं जिन्सी संकलन गरेको त्यस अवसरमा जानकारी दिइयो । एक महिना यहाँ भएको धार्मिक महोत्सवले देवघाट क्षेत्रमा मात्र दानसहित डुङ्गा, पार्किङ, होटल, खाजाघर, अस्थायी स्टल, यातायातलगायतका क्षेत्रमा करिब रु दुई अर्ब कारोबार भएको अनुमान गरिएको छ । 

महा–महोत्सवमा सङ्कलन भएको रु ७० लाखभन्दा बढीको जिन्सी सामग्री देशभरका ३० भन्दा बढी गुरुकूल, अनाथालय, अपाङ्ग आश्रम, गौशाला र वृद्धाश्रममा गरी ५० भन्दा बढी संस्थालाई वितरण गरिएको जानकारी दिइयो । ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजले भक्तजनको विश्वास टुट्न नदिने गरी काम गर्ने बताउनुभयो । महोत्सवमा ६७ हजार आठ सय ५९ रसिद काटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  

ईश्वरकृष्णको नेतृत्वमा देवघाट गाउँपालिकामा मातापिता आश्रम निर्माण भइरहेको छ । आश्रममा तीन सय ६५ कोठा निर्माण गरिने जनाइएको छ । त्यसका लागि रु दुई अर्ब खर्च हुनेछ ।
 


Author

थप समाचार
x