जात्रा-पर्व

मिथिला महाकुम्भ यात्राको तयारी

इकागज |
फागुन ११, २०८१ आइतबार १०:३ बजे

महोत्तरी- मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ ।

यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) छन् ।


यसपालि आउने बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ । “फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने याचना गर्नु छ”, महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहेका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय लाली महतोले भने ।

महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ ।

जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् । सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ ।

यसैगरी बर्दिबास–१४ स्थित कामेश्वरनाथ र बर्दिबास–३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् ।

महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए।

मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ । पर्व नजिकिएसँगै पर्वविशेषमा हुने किनबेचका सामग्री अहिले मन्दिर परिसर नजिक सजाइन थालिएका छन् ।

पर्वविशेषमा भाकलको भाण्टाभार, बेलपत्र र फूलपाती बेचेर केही आर्जन गर्ने जोहोमा सर्वसाधारण लागेका छन् । यसपालि महाशिवरात्रि पर्वमा १० हजार भाण्टाका भार बेच्ने तयारी गरेको भङ्गाहा–४ रामनगरका बहुरा महतो बताउँछन् ।


Author

थप समाचार
x