महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

फाइल फाेटाे
काठमाडौं - गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ ।
यसका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गर्ने संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।
महाशिवरात्रिमा यहाँ आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि संस्थानले बस्ने, खाने र धुनी जगाउन दाउराको व्यवस्था गर्ने परम्परा छ । यसरी राखिएकालाई संस्थानले फागुन कृष्ण औँसीका दिन स्तरअनुसार दक्षिणासहित बिदाई गर्ने परम्परा पनि छ । महाशिवरात्रिका लागि मित्रराष्ट्र भारतबाट हजारौँ साधुसन्त आउने गरेका छन् ।
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तका लागि बस्ने, खाने र धुनी जगाउन दाउरा दिन फागुन कृष्ण एकादशीका दिन राष्ट्राध्यक्षले संकल्प पूजा गर्ने विधि रहेको छ । सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा संकल्प पूजा गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।
संकल्प पूजामा राडी, कमण्डलु, चमर, खाद्य सामग्रीलगायत साधु सन्तलाई दिइने चीजबीज राखिने संस्थानले जनाएको छ । यस वर्ष भारतको प्रयागराजमा जारी कुम्भ मेलाका कारण त्यता स्नान गरी भक्तजन यता पनि बढी नै आउने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया