महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौं - महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । गुठी संस्थान र कोषले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यही अनुसारको खर्चको व्यवस्था गर्दै आएको छ ।
नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्ग अनुसार रु दुई सय देखि ९ हजार सम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।
साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाइ गर्ने गरेको उनले बताए ।
महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको विभिन्न स्थानमा राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो ।
महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया