सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौँ- राजधानीमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।
सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।
केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया