जात्रा-पर्व

टुँडिखेलको फूलपाती बढाइँमा राष्ट्रपति सरिक हुने

आज घरघरमा फूलपाती भित्र्याइँदै, हनुमानढोकामा साढे चार बजे भित्र्याइँने

इकागज |
असोज २६, २०७८ मंगलबार ८:५६ बजे

फाइल तस्‍बिर

काठमाडौं - प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ। यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।


हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमान ढोकामा यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ । सो अवसरमा नेपाली सेनाले फूलपाती बढाइँ समेत गर्दछ । सैनिकमञ्च टुँडिखेलमा हुने बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुने कार्यक्रम छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।

टुँडिखेलको फूलपाती बढाइँमा राष्ट्रपति सरिक हुने

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

 


Author

थप समाचार
x