जात्रा-पर्व

देउता बन्‍ने मान्‍छेका कथा

सुनीता साखकर्मी |
कात्तिक ६, २०७७ बिहीबार ६:४६ बजे

भक्तपुर : पालो बुवाको थियो देउता बन्ने । तर छोरा बद्री बनमाला अघि सरे । तीन वर्षअघि उनी भक्तपुरको नवदुर्गा देवगण मध्येकी एक देउता ‘भद्रकाली’ बने । यसपालि उनी ‘माहेश्वरी’ देउता चुनिएका छन् । साढे दुई महीनादेखि ‘माहेश्वरी’ देउताको नाच सिकिरहेका छन् । तर अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मुखमा मुकुन्डो, शीरमा मुकुट, शरीरमा जामा र खुट्टामा घंघला पहिरिएर खाली खुट्टा नाच्दै भक्तपुरका गल्लीगल्ली डुल्न पाउँछन् कि पाउँदैनन्, उनैलाई थाहा छैन ।

‘हामीले नाच सिकेकै मानिसलाई देखाउनलाई त हो । यसपालि कोभिडले गर्दा देखाउन पाउँदैन कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘यत्तिका महीना मेहनत गरी नाच सिकेर देखाउन नपाए त बोर भइहाल्छ नि ।’


भक्तपुरको इनाचो ७ मा जन्मिएका बद्री अहिले २५ वर्षका भए । १४ जनाको ठूलो परिवारमा बस्छन् उनी । उनी जन्मिएको बनमाला समुदायले हरेक वर्ष भक्तपुरको नवदुर्गा देवगण नाच देखाउने गर्छ । त्यसैले वर्षको ९/१० महीना घरमा मात्रै नभई टोलभरि नाचकै मात्र कुरा हुन्थ्यो ।

बद्री पनि सानै देखि आफ्ना बा, काकाहरुले देउता बन्दै नाच देखाउँदै गरेको हेरेर हुर्किए । नाच देखाउन निस्किएका बेला बा र काकाहरुलाई मानिसहरु ढोग्न आउँथे । बा, काकाहरुलाई मानिसले गरेको सम्मान देख्दा बद्रीलाई पनि सानैदेखि ‘देउता बन्ने’ इच्छा जाग्यो । त्यसैले विद्यालय पढ्दा पनि उनको रुची अरु पेशातर्फ गएन । ‘एक न एक चोटि त देउता बन्नुपर्छ भन्ने उद्देश्य थियो सानोमा,’ बद्री भन्छन्, ‘तीन वर्ष अघि फाइनल्ली त्यो इच्छा पुरा भयो । म एकदमै खुसी हुन्छु नाच्न पाउँदा ।'

नवदुर्गा देवगण बनेर नाचेको यो नै पहिलो अनुभव थियो उनको । तर नवदुर्गा देवगण नै बनेको भने यो पहिलोपटक थिएन । १० वर्ष अघि पहिलोपटक नवदुर्गा देवगण मध्येका साना देउता ‘सिम्ह’ बनेका थिए । त्यतिबेला उनी नाच्न पाएनन् । त्यसैले पनि उनलाई ठूलो देउता बन्न तीब्र इच्छा जाग्यो । भक्तपुरको वनमाला समुदायले तान्त्रिक विधिद्वारा मानव शरीरमा देवत्व प्रतिष्ठा गरी ‘नवदुर्गा देवगण’ का रूपमा नाच प्रस्तुत गर्दै आएका छन् । देवगण बन्नेहरू वर्षैपिच्छे फेरिन्छन् । बनमाला समुदायको गुठीले घरैपिच्छे पालैपालो देवगण बन्ने नियम बनाएको छ । सोही अनुरुप तीन वर्ष अघि देउता बन्ने पालो बद्रीको घरमा आयो ।

बद्रीका बुवा ४५ वर्षीय जगन्नाथ बनमाला नै देउता बन्न अग्रसर भए । तर उनलाई छोरा बद्रीले ‘यसपालिदेखि मलाई यो नाच नाच्न मन लागेको छ, मलाई चान्स दिनु’ भनेपछि जगन्नाथ खुसी भए । साउनको भलभल अष्टमीका दिन नवदुर्गाले विश्राम लिइसकेपछि घण्टाकर्णको केही दिनअघि देवगण बन्नेहरूको नाम तय भएको थियो ।

त्यसपछि बद्री ‘भद्रकाली’ देउताका रुपमा चुनिएका थिए । त्यो वर्ष उनले देउता बनेर भक्तपुरका दुई दर्जन बढि गल्ली वा चोकमा नवदुर्गा नाच देखाए । खर्पनको एकातिर मुकुन्डो र अर्कोतिर गरगहना बोकेर नाच देखाउन कहिले उनी बनेपा पुगे, कहिले साँखु त कहिले पशुपति । यहाँ मात्रै होइन, जात्रा देखाउनकै लागि नाला, साँगा, पनौती, धुलिखेलसम्म जानुपर्छ । जहाँ गए पनि गाडी चढ्नु हुँदैन । झन्डै २५ देखि ३० किलो बोकेर हिँडेरै पुग्नुपर्छ । नांगा खुट्टा नाच्नुपर्छ । चलन नभएकाले, नाच्दा जुत्ता पनि लाएनन् । यही क्रम पोहोर पनि दोहोरियो । उनी पोहोर ‘भैरव’ देउता बने । यसपालि पनि उनी ‘माहेश्वरी’ देउता बनेका छन् ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार आधुनिक नेपाल निर्माण हुनुअघि उपत्यका र आसपासका राज्यहरूलाई नेपाल मण्डल भनिन्थ्यो । लिच्छविकालीन राजाहरूले आपतवपत्बाट राज्यको सुरक्षा गर्न नेपाल मण्डलका चारै दिशामा अष्टमातृका स्थापना गरी विधिवत् रूपमा नवदुर्गा नाच सुरु गरे । विविध कारणले रोकिएको नाचलाई नेपाल संवत् ६३३ मा भक्तपुरका सुवर्ण मल्लले पुनः सञ्चालनमा ल्याए ।

स्थानीय नारायणमानका अनुसार नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । खिँ, तँ, कंस, नकिं, थोम्हा, दातिम्हा, झिम्हा लगायतका बाजा बजाउने टोलीसँगै भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, माहेश्वरी, वैष्णवी, बालकुमारी, श्वेत भैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका अवतारमा नाच्नेहरू नै हुन्छन् । ‘दसैंमा नवमीको दिनमा खमे व्वाकेउ नामक जात्रा मनाइन्छ, रातभरी नै पुजा हुन्छ’, उनले भने, ‘दशमीको दिन मकुन्डोसहित प्रदर्शन गरिन्छ ।’ बेलुका पीठबाट कर्माचार्यले तान्त्रिक विधिपूवर्क मकुन्डो देवतालाई ख्वापा र गरगहना पहिराइदिएपछि मकुन्डो र जामा लगाएर नगर परिक्रमा गर्दै ‘पाया न्ह्याकेउ’ जात्रा मनाइने नारायणमानले बताए । यो नाचमा भक्तपुरकै अन्य समुदायको पनि सक्रियता उत्तिकै आवश्यकता पर्छ । मुकुन्डो बनाउन चित्रकार, ‘हाकुज्या कलश’ को भाँडा बनाउन प्रजापति, मखुन्डो लिन जाँदा माली, पुयेउ बाजा बजाउन परियार, कँ बाजा बजाउन मानन्धर र विधिपूर्वक पूजा गर्न कर्माचार्य चाहिन्छ ।

यसवर्ष कोभिड १९ को महामारी फैलिएसँगै भक्तपुर लगायत थुप्रै जिल्लाका जात्रा, चाडपर्व औपचारिक पुजाआमा सीमित राखिए । यो नवदुर्गा नाच पनि प्रदर्शन गर्ने वा नगर्ने भन्ने बारे नगरपालिकामा छलफल भएको स्थानीय नारायणमान बनमालाले बताए । उनी भन्छन्, ‘नगरपालिका, जिविसमा छलफल गरिरहेका छौँ, औपचारिक रुपमा पुजाआजामा सीमित राख्ने कुरा भएको छ । ठोस निर्णय भइसकेको छैन ।’ भक्तपुर नगरपालिकाले मासिक रुपमा प्रकाशन गर्ने ‘ख्वप पौ, बःछि पौ’ (पाक्षिक) को कार्तिक १ गतेको संस्करणमा पनि नगरपालिकाले दशैं(मोहनी नखः)का बेला भीडभाड नगर्न आग्रह गरेको छ ।

पहिले झै नाच देखाउन पाइन्छ कि पाइँदैन भन्ने अन्यौलका बाबजुद दिनरात नाच सिक्नको लागि मेहनत गरिरहेका छन् बद्री । उनीसँगै अन्य पाँच जना युवा पनि नाच सिकिरहेका छन् । ‘हामी देउता बन्यो भनेर हामीलाई कोभिड लाग्दैन भन्ने हुन्न । आखिरमा हामी पनि त मानिस नै हो, पुजा गरेपछि देउता बन्ने हो,’ उनी भन्छन्, ‘नाच देखाए पनि नदेखाए पनि कोभिडसँग त हामी पनि बच्नु परिहाल्छ ।’ 

देउता बन्ने नियम कडा 
बद्रीका अनुसार यो नाच सिक्दै गर्दा कडा नियम पालना गर्नुपर्छ । नाच सिकुञ्जेल बाहिर यस नाच स्टेपहरु गर्न हुँदैन । महीलासँग नजर जुधाएर बोल्नुहुँदैन । कसैलाई गाली गर्ने, झगडा गर्नु हुँदैन । जुठो खानुहुँदैन । बिहानैै नुहाएर ३/४ बजेतिर भक्तपुरको ब्रम्हायणी मन्दिर पुग्नुपर्छ । ब्रम्हायणीबाट नित्यनाथको मन्दिर पुग्नुपर्छ । त्यहाँबाट गणेश मन्दिर गएर घरमा पुग्नुपर्छ । अनि घरमा स्थापना गरिएको नित्यनाथलाई पुजा गर्नुपर्छ । अनि नाच सिक्ने काम सुरु हुन्छ । ‘गुरुहरु घरमै नाच सिकाउन आउनुहुन्छ,,’ बद्री भन्छन्, ‘घरमा बाजा हुन्छ । त्यही बजाएर गुरुले सिकाउनुहुन्छ ।’

कहिले बिहान, कहिले बेलुका सिकाउछन् गुरुले नाच । उनीहरुले गुरुहरुलाई राम्रो नाच देखाएर चित्त बुझाउनुपर्छ । गुरुहरुलाई चित्त नबुझेसम्म नाच सिक्नुपर्छ । कहिले काहिँ कुनै स्टेप सिक्न धेरै समय लाग्छ । त्यसबेला गुरुले उनलाई ‘जुठो त खाएन’ भनेर गाली गर्छन् । उनी भन्छन्, ‘नाच्न नआए गाली खान्छ । गुरुहरुले छोडेर गएपछि पनि बेलुकाको खाना खाएर प्राक्टिस गर्छन् ।’ 

देउता बन्न गाह्रो 
सानोमा बा, काकाहरुलाई नाच सिक्दै गरेको देख्दा बद्री पनि उनका स्टेपहरु कपि गर्थे । बा ले नाच गरेको हेर्दा उनलाई ‘यो त एकदम सजिलो छ, अलिक हात र खुट्टा हल्लाएपछि सकिन्छ’ भन्ने लाग्थ्यो उनलाई । घरमा बुवाले नृत्य सिक्थे, त्यसैको नक्कल साथीहरुमाझ गरेर देखाउँथे । कागजको मुकुट बनाएर साथीहरुलाई लखेट्थे । तर जब औपचारिक रुपमा आफैले नाच सिक्न थाले, तब भने बद्रीले यसको कठिनाइ नजिकबाट देखे, भोगे । भन्छन् नि अरुले गरेको हेरेर कमेन्ट गर्न सजिलो हुन्छ, तर आफुले गर्न परेपछि पसिना छुट्छ । त्यस्तै भयो बद्रीलाई पनि । ठूलो देउता बनेर नाच सिक्दै गर्दा होस् या नाच्न थालेपछि कयौँ पटक उनी बिरामी समेत भए ।

सानैदेखि उनलाई भैरव देउता बन्न मन लाग्थ्यो । पोहोर उनी भैरव बन्न पाए । नवदुर्गा नाचमा भैरवको महत्व धेरै छ र नवदुर्गाको पुरै नाचमा भैरवको नाच नै धेरै छ । मन परेको देउता भैरवको नाच सिक्ने समयमा भने उनलाई धेरै गाह्रो भयो । नाच सिक्ने क्रममा तीन महीना बद्री बिरामी परे । ‘नाच सिक्दैन कि भन्ने टेन्सनले गर्दा ज्वरोले च्याप्यो,’  उनी भन्छन्, ‘नाच सिकेन भने बेइज्जत हुन्छ भनेर पनि जसरी पनि सिकेरै छाडेँ ।’

पहिले नाच सिक्दा एउटा स्टेप सिक्न एकहप्ता लाग्यो । गुरुहरुले पनि खुब गाली गर्नुभयो । ‘यस्तो जाबो सजिलो स्टेप पनि गर्न आउँदैन’ भनेर गाली गर्दा बद्रीलाई नराम्रो लाग्थ्यो । तर ति गालीलाई उनले आफ्नो कमजोरी बनाएनन् । तिनबाट हौसला लिएर राम्रो गर्दै गए । साढे दुई महीनामा सिकेरै छोडे ।

नाच सिकेर र नाचेर मात्रै उनको जिम्मेवारी पुरा हुँदैन । नाच्दा ९/१० किलोको नवदुर्गाको ख्वापा(मुकुण्डो), ७/८ किलो धातुको मुकुट, भारी गहना, लुगा लगाएर संगीतको तालमा ताल मिलाएर नाच्नुपर्छ । त्यतिबेला उनको शरीरमा मात्रै १५ देखि १६ किलोको सामान हुन्छ । मुकुण्डो र मुकुट शीरमा पहिरिएपछि त दायाँ बायाँ समेत हेर्न पाइँदैन । अगाडि हेरेर नृत्य गर्नुपर्छ । कतै जाँदा जुत्ता लाउन पाइँदैन । खानै खान पाइँदैन । नियमित पढ्न र काम गर्न पाउँदैनन् । बा नाचमा लाग्दा बुवाले मुस्किलले उनीहरुको पढाइ खर्च जुटाउन सकेनन् । ६ वर्षमा त बल्ल नर्सरी पढ्न थालेका थिए उनले । भाइहरु देउता बन्दा उनीहरुले नसकेको ठाउँमा सघाउन पर्यो बद्रीले । शिक्षकहरुले देउता नबने पनि हुन्छ कि भन्थे । तर आठ महीना जात्रा नै गर्नुपर्ने । माघ, फागुन त स्कुल जानै बन्द । त्यसले उनको पढाइ बिग्रियो । कक्षा आठमा नै तीनपटक पढे उनले ।

बद्री अघिपछि सामान विक्रिवितरणको काम गर्न गर्छन् । मानिसहरुको अर्डर अनुसार घरघरमा सामान पुर्याउने काम गर्छन् । तर देउता बनेपछि नौ महीना काम नै छोड्नुपर्छ । कहिलेकाहिँ जिन्दगीको बारेमा सोचेर उनी घोत्लिन्छन् । एक मनले सोच्छ, -नाच्नुभन्दा अरु काम गर्न पाएको भए, जीवन राम्रो हुन्थ्यो कि । सँगै पढेको साथी कमाएर कस्तो भयो, आफु जहाँको तहीँ छु । कोही पढेर बाहिर गए, आफुले पढ्न नपाएर बाहिर नि जान नसक्ने छु ।

अर्को मनले सोच्छ- नाच्न त मजा छ । रमाइलो छ । सबैले ढोगेको छ । ढोग्न आउने, वा नाच हेर्न आउने सबैले उनीहरुलाई राम्रो मात्रै भन्दैनन् । केहीले गाली गर्छन् । तब उनलाई झनै नराम्रो महशुस हुन्छ । ‘सब त्यागेर नाच्न आउँदा पनि केहीले हामीलाई नै गाली गर्छ, हेप्छ,’ बद्री भन्छन्, ‘केहीले त देउता बनेर तिमीहरुलाई फाइदा होला, खाना पाउँछ, पैसा पाउँछ भनेर भन्छ । तर उनीहरुलाई के थाहा पैसा हामीले पाउँदैनौँ । नवदुर्गा देवगणको नाइकेले लिन्छ । हामीले चोरेर लिने कुरा भएन । खाने पनि बासी हुन्छ । आज चढाएको भोली पर्सी खाने हुन्छ ।’

मानिसले उनलाई ढोग्न आउँदा उनलाई रमाइलो पनि लाग्छ । अरु बेला झगडा गर्ने, ख्यालठट्टा गर्ने साथीहरु पनि देउता बनेका बेला ढोग्न आउँछन् । उनी पनि आर्शिवाद दिएर पठाउँछन् । त्यो बेलामा आफु नि देउता नै भएको महशुस हुन्छ बद्रीलाई । तर हस्तान्तरण गरी पाएको देउता घण्टौँसम्म टाउकोमा राख्नुपर्छ । त्यो निकै भारी हुन्छ । आफुले पाएको देउता भूईंमा राख्नुहुँदैन । भोलीपल्ट घाँटी दुख्छ । नाच पछि स्थानीयहरुले उनीहरुलाई घरमा पनि डाक्छन् । कसैले समय्बजि, कसैले जुस खुवाएर पठाउँछन् । नाच्दा नाच्दै निकै अबेला हुन्छ । कुनैदिन दुई घण्टा, कुनै दिन आधा घण्टा पनि आँखा बन्द गर्न पाइन्न । न खाने टुंगो, न सुत्ने । कुन बेला सुत्ने, कुन बेला उठ्ने, ठेगान नै हुँदैन । त्यो बेला निन्द्रा एकदम प्यारो लाग्छ उनलाई । 

नाचको सन्देश जनमानसले बुझ्न छोडे 
भक्तपुरको नवदुर्गा देवगणले देखाउने ‘ङा लाकेगु जात्रा’(माछा मार्ने जात्रा)मा सन्देश लुकेको छ । नाचमा भएका सिम्ह र दुम्ह सेतो भैरवको मीत छोरा र मीत छोरी हुन् । सेतो भैरबले माछा मारेर ल्याउँछ । ‘ल मैले माछा ल्यायो, राखिराख, सँगै खानुपर्छ’ भनेर सेतो भैरव जान्छन् । तर त्यो सिम्ह र दुम्ह बच्चाहरुले सबै खाइदिन्छन् । त्यसपछि सेतो भैरवले फेरि माछा मारेर ल्याउँछ अनि यो पटक सिम्ह र दुम्हलाई दिँदैन । सेतो भैरवले सिम्ह र दुम्हलाई देखाइदेखाइ खान्छ । त्यसपछि मीत छोरा र छोरीले सेतो भैरवलाई सराप दिन्छ । अनि सेतो भैरवलाई पेट दुख्छ । अनि मितहरुलाई बोलाउँछ । मीतको श्रीमती इन्द्रायणीले बैद्य सिकिरहेको हुन्छ । श्रीमतीले सेतो भैरवबलाई चामल छर्किदिन्छिन् । त्यसपछि सेतो भैरबलाई पेट सञ्चो हुन्छ । त्यसपछि इन्द्रायणी र सेतो भैरबले सँगै नृत्य गर्छन् ।

त्यसपछि लुगा धुनुपर्छ । मीत छोरा र छोरीलाई लुगा धुन बोलाउँछ । मलाई नदिइकन खाएको, भनेर आफैले लुगा धुनुपर्छ । बद्रीका अनुसार नाचले बाँडिचुँडी खानुपर्छ भन्ने सन्देश दिएको छ । तर नाच हेर्ने धेरैलाई यो कथा थाहा नै नभएको उनको गुनासो छ । बद्री भन्छन्, ‘सेतो भैरव पेट दुखेर छट्पटाइरहेको बेला दर्शकदीर्घाका केहीले ‘सेतो भैरबले बच्चा जन्माउन लाग्यो’ समेत भनेर भनिदिन्छ ।

केही स्थानमा बन्द भए नाच 
दशैंमा भक्तपुरका दुई दर्जन भन्दा बढि स्थानमा नाच देखाएपछि बाला चतुर्दशीदेखि पशुपतिबाट ‘ङा लाकेउ’ जात्रा सुरु हुन्छ । यसमा पनि नवदुर्गा देवगणले नाच्नुपर्ने हुन्छ । पशुपति पछि थिमिमा जात्रा गर्ने चलन छ । साँखुमा हुने माधवनारायण मेला, साँगाको श्रीपञ्चमी मेला, नालाको होली पुन्ही, बनेपाको चण्डेश्वरी जात्रामा पनि वनमालाहरू नै नाच लिएर पुग्नुपर्छ । पहिले गोकर्णसम्म पुग्ने गरेकोमा अहिले उनीहरू जान छाडेको स्थानीय नारायण बनमाला बताउँछन् ।

गत वर्ष भक्तपुरको ६ वटा ठाउँमा नाच देखाइएन । भक्तपुर नगरपालिकाले नै ति ठाउँमा नाच नगर्न भनेपछि पाँच ठाउँमा नाच नदेखाइएको र । एक ठाउँमा औपचारिक पुजा आजा मात्रै भएको बद्री बताउँछन् । उनी भन्छन्, ‘पहिले टोखामा पनि नाच लिएर पुग्ने चलन थियो । तर केही वर्षदेखि यो पनि रोकिएको छ । यसवर्ष पनि नाच गरेन भने फेरि घट्दै जाने हो कि भन्ने डर लाग्छ ।’ 
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x