जात्रा-पर्व

राक्षसविरुद्ध रिम्पोछेको 'तान्त्रिक नाँच'

सेर्माथाङमा छेच्युको रौनक : मुकुन्डो पहिरिएर धार्मिक पूजा

सुनीता साखकर्मी |
फागुन १५, २०७७ शनिबार १५:३१ बजे

हेलम्बु : गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बुको सेर्माथाङमा ह्योल्मो समुदायले शनिबार 'छेच्यु पुजा' गरेको छ । छेच्यु पूजा चन्द्रमास पात्रो अनुसार सोनाम ल्होछारको पर्वसँगै विभिन्न गाउँहरूमा पञ्चमीदेखी पुर्णिमासम्म मनाइन्छ ।

छेच्युको सुरुवातमा धार्मिक महत्त्वका पवित्र पुस्तकहरु (ह्युम) को १६ थान पुस्तकहरू पाँच दिनसम्म पाठ वाचन गरीसकेपछि मनाउने चलन छ । ह्योल्मोका कतिपय गाउँहरूमा अझै पनि केही महिनाअघि देखि नै ह्युम पाठ गर्ने चलन छ । पौराणिक बौद्ध धर्मग्रन्थ अनुसार गुरु रिम्पोछेको तान्त्रिक नृत्यको माध्यमबाट राक्षसमाथि प्रतिकात्मक विजय प्राप्त गरेर यो धार्मिक पूजा गरिने संस्कृतिविद् टासी दोङ्वा ह्योल्मोले जानकारी दिए ।


ह्याल्मोका अनुसार छेच्युको विशेषता नै रुद्रहरूलाई बज्रयान तान्त्रिक अभ्यासमार्फत् बसमा लिई बुद्धको वचनमार्फत् आशीर्वाद दिएर नकारात्मक कर्म शुद्ध पार्ने र अनि मुक्ति दिलाउने हो । गुरु रिम्पोछेको प्रतीक स्वरुपका साथै अन्य विभिन्न देवीदेउताका विभिन्न मुद्राका मुकुन्डोहरू पहिरिएर धार्मिक पूजा गर्दै नाच्ने गर्छन् । यो नाचालाई बाछ्याम भनिन्छ । धार्मिक नाचका लागि लामाहरूलाई आफ्नो ज्ञान अनुसारको (न्हाम्सा) पोशाक लगाएर मात्र सहभागि गराइन्छ । यो साधारण मनोरञ्जन मात्र नभई यो पूजामा भाग लिए बापत विशेष आशीर्वाद पाइने विश्वास यहाँका मानिसहरूमा छ ।  

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x