समग्रमा बजेट उत्साहजनक : निजी क्षेत्र
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट प्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ । शर्माले आज संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटले निजी क्षेत्रको धेरै हदसम्म माग सम्बोधन गरेको भन्दै निजी क्षेत्रका उद्योगीहरु उत्साहित भएका छन् । यसपालिको बजेटले धेरै हदसम्म नीजि क्षेत्रको समस्या समाधान गरेको भन्दै निजी क्षेत्रका उद्योगीहरूले सन्तोष व्यक्त गरेका हुन् । स्वदेशी वस्तुहरूको प्रवर्द्धन तथा आयातलाई विस्थापित गर्ने गरि बजेट आएको तर कार्यन्वयन चुनौती पूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
इकागजसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र श्रेष्ठले बजेटले धेरै हदसम्म स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने नीति लिएको हुँदा समग्रमा सन्तोषजनक रहेको बताए । आयातलाई विस्थापित गर्ने नीति सहित आएको बजेट सकारात्मक छ तर यसको कार्यन्वयन भने चुनौतीपूर्ण रहेको मल्लको भनाइ छ । 'समग्रमा बजेटले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरेर आत्मनिर्भर हुने योजना ल्याएको छ यो निकै राम्रो हो तर कार्यन्वयन भने निकै चुनौतीपूर्ण रहेको देखिन्छ' मल्लले भने ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले परिसंघले उठाएका धेरै मुद्दालाई बजेटले सम्बोधन गरेको हुँदा उत्साहजनक नै रहेको बताउँछन् । मासिक १० करोडसम्म विद्युत खपत गर्ने उद्योगलाई सहुलियत, मेक इन नेपाल अवधारणा, स्टार्टअपको कार्यक्रमलाई पनि अगाडि बढाएको हुँदा समग्रमा बजेट उत्साहपूर्ण नै आएको अग्रवाल बताउँछन् । 'सिएनआईले उठाएका धेरै मागहरू यस बजेटमा परेको छ यसले गर्दा बजेट निजी क्षेत्र मैत्री सकारात्मक रहेको मैले पाएको छु' उनले भने ।
त्यस्तै बजेट भाषणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले नीजि क्षेत्रको मागहरू सम्बोधन गरेको बताए। स्वदेशी उत्पादनको प्रवर्द्धनमा विशेष ध्यान दिएको भन्दै बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आयो’ ढकालले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटले केही हदसम्म नीजि क्षेत्रको माग सम्बोधन गरेको भन्दै सकारात्मक रहेको प्रतिकृया दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया