वित्तीय पहुँचको अभाव र अत्याधिक नियमनले साना-मझौला उद्यम विकासमा अवरोध
काठमाडौँ– साना मझौला उद्यम (एसएमइज्)का लागि वित्तीय लगानीको कमीका कारण यसको अपेक्षित विस्तार हुन नसकेको विज्ञहरूले बताएका छन् । स्वीसकन्ट्याक्टको आयोजनामा सम्पन्न समावेशी आर्थिक विकासका लागि एसएमईजमा लगानीको गाँठो फुकाउनेसम्बन्धी अन्तर्क्रियामा सहभागी विज्ञहरूले बैंक तथा वित्तीय संस्थाहरूले एसएमईजलाई कम सेवा दिएको उल्लेख गरे ।
नेपालमा एसएमईज् क्षेत्रको अत्यन्त धीमा विस्तार भइरहेको सन्दर्भमा संरचनागत र परिस्थितिजन्य चुनौतीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
एसएमइजहरूले कर्मचारीतन्त्र सिर्जित जटिल प्रक्रियाहरू, अत्याधिक नियमन, यथार्थ सूचनाको अभाव तथा चल/अचल सम्पत्ति धितो आवश्यकता प्रमुख अवरोध भएको चर्चा गर्दै कार्यक्रमका वक्ताहरूले यी समस्यालाई सम्बोधन गर्दै अवसरको उपयोगमार्फत् दिगो र समावेशी आर्थिक विस्तारका लागि एसएमइजमा लगानी बढाउनुपर्ने बताए ।
प्रतिष्ठीत व्यक्तिहरू छलफल सत्रमा सहभागी थिए । स्वीस कन्ट्याक्टका अध्यक्ष थमस मेयर, स्वीजरल्याण्डको नेपालस्थित दूतावासकी उपप्रमुख सिल्भाना होग, मेगा बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेली, सोसल टुर्सका संस्थापक राज ज्ञवाली, अभिनव ल चेम्बरका साझेदार सेमन्त दाहाल, डेलिस डेरीका संस्थापक सूर्य कार्की, अलियोकी संस्थापक सोनिका मानन्धर छलफल सत्रका वत्ता थिए । त्यस्तै, उक्त छलफल सत्रको सञ्चालन सञ्चारकर्मी शिवानी थापाले गरेकी थिइन् ।
डेलिस डेरीका सूर्य कार्कीले आफ्नो अनुभव साट्दै वित्तीय संस्था र एसएमइबीच विश्वासको खाडल रहेको उल्लेख गरे । ‘साना मझौला उद्यमीले वित्तीय सेवा प्राप्त गर्न कठिन हुनु नै यसको विरस्तारको सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने, ‘सबै असहजतामात्र पनि छैन धेर्य र लगनशील भएर उद्यमहरू बाँच्न र अघि बढ्न सक्छन् ।’
अलियोकी सोनिका मानन्धरले धितो बिना कर्जा प्राप्त नहुने र महिलासँग भौतिक सम्पत्तिमा स्वामित्व नहुँदा कर्जा लिन अझै समस्या भएको धारणा राखेकी थिइन् ।
मेगा बैंककी पूर्व सीइओ अनुपमा खुञ्जेलीले एसएमइज र वित्तीय संस्थाबीच सहकार्यका प्रशस्त अवसर भएको धारणा राख्दै वित्तीय संस्थाले एसएमइजका लागि उपयुक्त उपकरणहरू ल्याउनुपर्ने र उद्यमहरूले पनि विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । ‘एसएमइजमा केन्द्रीत बैंकले सबैका लागि उपयुक्त सेवाको विकास गरेमा यो सबैका लागि अनुकुल हुनेछ,’ उनले भनिन् । कानुनविद् सेमन्त दाहालले एसएमइजहरूमा कानुनी र नियामकीय व्यवस्था अनुपालन गर्ने क्षमताको अभावमा यस क्षेत्रको विस्तारमा अवरोध रहेको चर्चा गरे ।
एसएमइजका लागि अवरोध र अवसरका सम्बन्धमा बृहद् छलफलपछि स्वीसकन्ट्याक्टका अध्यक्ष थमस मेयरले एसएमइजको विस्तारका लागि सञ्चालन सम्बन्धी विशिष्ठतामा जोड दिए । उनले व्यवसायिक शिक्षा र तालिमले जनशक्तिको सीप विकासमा योगदान पुग्ने उल्लेख गरे । नेपालस्थित स्वीस नियोगकी उपप्रमुख सिल्भाना होगले समावेशी र दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एसएमइजहरूको प्रवर्धनका लागि विकास साझेदारहरूले उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न सरोकारवालाले सघन सहभागिता जनाउनुका साथै उक्त समूहमा सञ्जाल विस्तार गर्ने र सम्भावित साझेदारीबारे छलफल गर्ने अवसर प्राप्त गरेका थिए । स्वीसकन्ट्याक्टले कार्यक्रममा छलफलका क्रममा आएका समाधानका उपाय र अन्तर्राष्ट्रिय असल अभ्याससँग सम्बन्धित विषयवस्तुले आगामी दिनमा नेपालमा एसएमइजको विकासका लागि नयाँ मार्ग विकासको साझेदारीमा सहयोगी हुने उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया