सीएनआईले माग्यो वायर रड, घिऊ, तेल र सेनेटरी प्याड उद्योग बचाउन संरक्षणकारी करका दर
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिरणलाई बढावा दिने नीति लिए पनि केही तयारी उत्पादनमा करका दर कम हुँदा स्वदेशी उद्योग मारमा पर्ने नेपाल उद्योग परिसंघ (सीएनआई)ले उल्लेख गरेको छ ।
‘सरकारको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग स्वदेशी उद्योगहरु भने प्रत्यक्ष मारमा पर्न गएका छन्,’ सीएनआईले भनेको छ ।
भारत सरकारले स्वदेशी उद्योगहरुको संरक्षण गर्ने नीति अबलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको छ । तर वायर रडबाट बन्ने तयारी सामानको निर्यातमा कुनै कर लगाएको छैन । यसका कारण वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तारहरू नेपालमा उत्पादन गर्दा नेपाली उद्योगहरुको लागत निकै बढी पर्ने सीएनआईले जनाएको छ ।
‘भारतले आफ्ना उद्योगहरुको संरक्षण गर्ने नीति लिएसँगै नेपाल सरकारले समेत स्वदेशी उद्योगहरुको संरक्षण गर्नुपर्नेमा यस्ता वस्तुहरूमा भन्सार तथा अन्तःशुल्क बढाएर स्वदेशी उद्योगहरुलाई धरासायी बनाउने वातावरण बनेको छ,’ सीएनआईले भनेको छ, ‘यसरी उद्योगको कच्चा पदार्थ वायर रड आयात गर्दा भारतमा १५ प्रतिशत तथा नेपालमा १० प्रतिशत भन्सारका साथै ४५०० रुपैयाँ प्रति टन अन्तःशुल्क लाग्ने व्यवस्था कायम गरेको छ ।’
तर सोही कच्चा पदार्थबाट निर्मित तयारी वस्तुहरुको आयातमा भारततर्फ कुनै कर नलाग्ने, नेपाल सरकारले ६ प्रतिशत भन्सार तथा १० हजार रुपैयाँ प्रति टन अन्तःशुल्क लगाएको छ । यस व्यवस्थाले कच्चा पदार्थ तथा सोबाट निर्मित तयारी वस्तुको आयातमा लाग्ने शुल्क कम्तीमा एक तहको फरक हुने सरकारकै नीति विपरित व्यवस्था कायम भएको सीएनआईको दाबी छ । स्वदेशी उद्योगहरुलाई धरासायी हुनबाट तत्काल जोगाउन हाल वायर रडको आयातमा कायम गरिएको भन्सार महसुलमा उद्योगहरूलाई ९० प्रतिशत छुट गर्न सीएनआईले माग गरेको छ ।
अन्तःशुल्कको हकमा साविककै व्यवस्था बमोजिम उद्योग विभागको सिफारिसमा कच्चा पदार्थमा अन्तःशुल्क छुट हुने व्यवस्था समेत कायम गरिनुपर्ने भन्दै सीएनआईले उद्योगको कच्चा पदार्थमा अन्तःशुल्क नलगाउन पनि सरकारसँग माग गरेको छ । यस्तो व्यवस्था कायम गरिएमा विगतमा निर्यात गर्दै आएका यस्ता उद्योगहरुले निर्यात बढाउन सक्ने सीएनआईको दाबी छ ।
यसैगरी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरु पनि गम्भीर मर्कामा पर्ने अवस्था सिर्जना भएको भन्दै सीएनआईले सरकारको ध्यानाकर्षण गराएको छ । हालै भारतले कच्चा खाने तेलको भन्सार महशुल शून्य प्रतिशतमा झार्दै ५ प्रतिशत मात्र जीएसटी (वस्तु तथा सेवा कर) कायम गरेको छ । नेपालमा यस्तो कच्चा खाने तेलको आयातमा भन्सार महशुल १० प्रतिशत र मु.अ.कर १३ प्रतिशत लाग्दै आएको छ । ‘यसले नेपाली उत्पादन महङ्गो भएको र प्रमुख निर्यात हुने वस्तु निर्यात बजारमा महङ्गो भइ निर्यात शून्य हुने साथै भारतीय उत्पादन नेपालमा सहजै आयात हुने भई नेपालमा संचालित उद्योगहरु बन्द हुने अवस्था सिर्जना भएको छ । यसलाई नेपाल भारतको खुला सिमानाका कारण भईरहेको अनधिकृत पैठारीले थप बल पुर्याएको छ,’ सीएनआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘उपभोक्ताहरुलाई चरम महङ्गीवाट राहत दिन, तयारी समान भन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महशुल हुने नीति यथार्थमा अवलम्वन गर्न र भारतबाट अनाधिकृत रुपमा आयात भई रहेको खाने तेल रोक्न समेत कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य प्रतिशत र मु.अ.करमा ५० प्रतिशत छुट दिनुपर्छ ।’
सेनिटरी प्याड आयातमा १० प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्थाले स्वदेशी उद्योग धराशायी हुनेतर्फ पनि सीएनआईले ध्यानाकर्षण गराउँदै सेनेटरी प्याड स्वास्थ्यको न्यूनतम आधारभूत आवश्यकता भएको हुँदा यी उत्पादनका स्वदेशी उद्योगलाई संरक्षण दिन सीएनआईले माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया