अर्थ / बाणिज्य

चीनसँगको नाका सूचारु नहुँदा व्यवसायीहरू कलकत्ताबाट सामान आयात गर्न बाध्य

इकागज |
जेठ २८, २०७९ शनिबार १६:१२ बजे

सिन्धुपाल्चोकको तातोपानीमा रहेको सुख्खा बन्दरगाह : तस्वीर/इकागज

काठमाडौं– चीनसँग जोडिएका नाका सूचारु नहुँदा भारतको कलकत्ता हुँदै सामान आयात गर्नुपर्ने बाध्यता भएकाले कठिनाई भएको व्यापारीहरुले गुनासो गरेका छन्। नेपाल–चीनबीचको स्थलमार्ग सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका सूचारु नभएकाले यस्तो समस्या आएको व्यवसायीहरुले गुनासो गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् ।

शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताए ।


दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे । 

सरकारले उद्योगी व्यवसायीहरुलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरु सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाइ छ । उनले बजेटपछि उद्योग व्यवसायी र शेयर लगानीकर्ता सडक आन्दोलनमा रहेकाले देशका शासक प्रशासकहरु नीति, विधि पद्धतिबाट विखलन भएर गएका हुन् कि भन्ने महशुस भएको बताए । 

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले आयात प्रतिस्थापन तत्काल छोटो अवधिमा सम्भव नभएको भन्दै दीर्घकालिन ठोस नीति र प्रतिस्पर्धी वातावरणले मात्रै आयात प्रतिस्थापन सम्भव भएको जनाए । 

त्यस्तै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनैपनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गरे । सरकारले नै चीन सरकारसँग कुटनीतिक पहल गर्न नसक्दा चीन नाकामा व्यवसायीहरुलाई सामान आयातमा समस्या रहेको बताए ।
नेता बस्नेतले नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीहरुको रहेको बताए ।


Author

थप समाचार
x