अर्थ / बाणिज्य

मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति: अझै कतिञ्जेल गरिरहने हो मेलम्ची उद्घाटन

सामीप्यराज तिमल्सेना |
चैत २०, २०७७ शुक्रबार १८:२३ बजे

तस्बिर: सुनील सी बज्राचार्य

काठमाडौँः कार्यान्वयन शुरु गरेको २२ वर्षपछि सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको पटक–पटक उद्घाटन भएको छ । सत्तारुढ दलभित्र उत्पन्न विग्रहका कारण राजनीतिक संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि शिलान्यास र उद्घाटलाई राष्ट्रिय कार्यक्रम बनाएर देशभर घुमफिर गरिरहेका थिए । 

यसै क्रममा राष्ट्रिय गौरवको आयोजना मेलम्चीको उद्घाटन तय भएको हो । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाका धारामा पठाउने काम परिक्षणको क्रममा छ । यसपछि पानी सुकाएर पुनः सुरुङको परिक्षण देखि पानी प्रशोधन केन्द्र, वितरण केन्द्र सबै जाँच गरेपछि नियमित रूपमा धारामा पानी छाडिन्छ । 


मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । परिक्षणका क्रममा एकपटक पानी पठाइसकेपछि अब व्यवसायिक रूपमा खानेपानी नियमित आपूर्ति गर्नुअघि यी कार्य अनिवार्य भएको खानेपानी मन्त्रालयका एक पूर्व सचिवले बताए । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणका क्रममा आयोजनाको सुरुङको ढोका भत्किएर गत असार ३० मा इन्जिनियर सतीश कुमार गोइतको मृत्यु भएको थियो । त्यसपछि गत फागुनको पहिलो साता पुनः सुरुङमा पानी पठाएर परिक्षण गरिएको थियो । यसको उद्घाटन गर्दै खानेपानी मन्त्री मणीचन्द्र थापाले पठाएका थिए । 

२२ वर्षमा मेलम्ची आयोजना निर्माण हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जस लिन ठूलै कसरत गरिरहेका छन् । मेलम्चीको जस र अपजसमा यसबीचका सबै सरकार उत्तिकै जिम्मेवार देखिन्छन् । मेलम्चीको पानी काठमाडौं ल्याउने मिति यसअघि पनि पटक–पटक तोकिएको हो । तर, त्यी समय सारिदैं आएको थियो । फागुन १० गते मन्त्री थापाले सिन्धुपाल्चोकतर्फबाट सुरुङको उद्घाटन गरेर पानी काठमाडौँ पठाएका थिए । मेलम्चीबाट पठाएको पानी २६ किमी सुरुङ भरिएर काठमाडौ आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ मा उद्घाटन गरेका थिए । 

काठमाडौँको सुन्दरीजलमा आएको पानी स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई खुसी हुने र ‘लड्डू खाने’ अवसर भएको बताएका थिए । 'आज अत्यन्त खुसीको दिन हो । लड्डू जतिबेला पायो, त्यतिबेला होइन यस्तो बेलामा खानुपर्छ,' भन्दै प्रधानमन्त्री ओलीले कुनै समयका सहयात्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कटाक्ष पनि गर्न भ्याएका थिए ।  मेलम्चीको पानीको काठमाडौँमा स्वागत समारोह नै राखिएको थियो । फागुन २२ मा मेलम्चीको पानी स्वागत गर्न सुन्दरीजल पुगेका प्रधानमन्त्रीले मेलम्ची आयोजना कार्यान्वयन शुरु हुँदा ‘आफ्नो कपाल कालै रहेको र सम्पन्न हुँदा कपाल नै नरहेको’ भन्दै आयोजना सम्पन्न हुन लामो समय लागेको र आफूले त्यसलाई सम्पन्न गरेको भन्दै अन्य सरकारलाई व्यंग्य पनि गर्न भ्याएका थिए । 

आज पुनः चैत २० गते काठमाडौंका धारामा मेलम्चीको पानीलाई राष्ट्रपतिले स्वागत गर्दै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेकी छिन् । २२ वर्षमा ३५ अर्ब रुपैयाँ खर्च भएर निर्माण सम्पन्न भएको मेलम्ची पहिलो राष्ट्रिय गौरवको आयोजना हो । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x