अर्थ / बाणिज्य

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

इकागज |
असार ६, २०७९ सोमबार २०:८ बजे

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनलाई निगमका कार्यकारी अध्यक्ष अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्‍याएको विषयमा स्पष्टीकरण सोध्दै निलम्बनमा गरेको हो । 


उनको विषयलाई लिएर एकीकृत समाजवादी पार्टीमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच द्वन्द्व बढेको थियाे । 

नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान फोन गरी अधिकारीलाई निलम्बन नगर्न आग्रह गरेपछि दुई नेताबीच द्वन्द्व बढेको हो । बालुवाटार स्रोतका अनुसार नेता खनालले आफ्नो पार्टीले मन्त्री नै परिवर्तन गर्न लागेको र छिट्टै मन्त्रिपरिषदमा मन्त्रीहरु हेरफेर हुने भएकाले अब आउने पर्यटन मन्त्रीले नै जे जे गर्छ गर्नेछ भन्दै फोन गरेका थिए । पर्यटन मन्त्री प्रेम आलेले गत जेठ २४ गते निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । मन्त्री आलेको सिफारिस सार्वजनिक भएपछि नेता खनालले रोक्न लगाएको स्रोतको दाबी छ । तर, पनि उनी निलम्बित भए । 

अधिकारीलाई निगमको अध्यक्षमा नियुक्त गरेपछि समाजवादीको सचिवालय बैठकमा खनालको स्वार्थमा नियुक्ति भएको भन्दै विरोध भएको थियो । ‘अहिले आएर अधिकारीको गतिविधि राम्रो नदेखिएपछि विभागीय मन्त्रीले दुई, दुईपटक स्पष्टीकरण सोधेका थिए’ समाजवादीका एक नेताले इकागजसँग भने । 

एमालेसँग पुनः मिल्ने र वाम एकताको कुरा गर्दै आएका नेता खनालले भनेको नमान्दा उनी पार्टी छाडेर जाने संशय र भयका कारण अध्यक्ष नेपालले अधिकारीका सम्बन्धमा ‘तटस्थताको नीति’ अख्तियार गरेको समाजवादीका ती नेताले बताए ।

अध्यक्ष नेपालले हिजो आइतबार सम्पादकहरुसँगको अन्तत्र्रिmया कार्यक्रममा समेत पर्यटन मन्त्री र निगमका अध्यक्ष अधिकारीबारे टिप्पणी गर्न चाहेनन् । उनले भनेका थिए, ‘यसबारे जवाफ दिन बडो अप्ठेरो छ ।’

सम्मानित नेता खनालले यो प्रकरणमा आफूले कहीं कतै हस्तक्षेप नगरेको बताएका छन् । ‘अरु कुरा मलाई केही पनि थाहा छैन, कसले के प्रस्ताव लान्छ,’  क्याबिनेटमा के जान्छ त्यो कुरा हामीलाई थाहा पत्तो पनि हुँदैन,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले सोमबार इकागजसँग भने, ‘कसैले मलाई औपचारिक रुपले त्यस्तो कुरा बताएको पनि छैन ।’
 


Author

थप समाचार
x