आन्तरिक उडान नियमित सञ्चालन हुने, वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता
फाइल तस्बिर
काठमाडौँ- वायु सेवा सञ्चालक संघ नेपालले आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरूले बुधबार बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुने जानकारी दिएका छन् ।
बुद्ध एयरले बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरू नियमित हुने जनाएको छ ।
वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने सहमति भएको बताए । आफूहरूका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको उनको भनाइ छ ।
कँडेलले इकागजसँग भने,' प्राधिकरणले १२ बजे पुनः वार्ताको लागि बोलाएको छ । राती अबेर भएकाले लामो समयसम्म वार्ता हुन सकेन ।'
संघले सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपत्कालीन उद्धारलगायत नियमित उडानहरू असार ८ गतेबाट स्थगित गर्ने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए ।
मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया