डलर कमजोर हुँदा बढ्यो सुनको मूल्य
डेमोक्र्याट राष्ट्रपति बाइडनले आर्थिक पुनरुत्थानका कार्यक्रम घोषणा गरेको खण्डमा लगानीका अन्य अवसर सिर्जना भइ सुनको मूल्यमा क्रमशः गिरावट आउन सक्छ ।
काठमाडौं : पछिल्लो एकसातामा सुनको मूल्य ३ हजार २ सय रुपैँयाले बढेको छ । एकसाता अघि स्थानीय बजारमा ९५ हजार प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य सोमबार ९८ हजार २ सय पुगेको छ । अमेरिकी डलर कमजोर हुँदा सुनमा लगानी गर्नेहरु बढेका छन् । अमेरिकी राष्ट्रपति चुनावकी नतिजा अदालती प्रक्रियामा जाने र तनाब बढ्ने संकेतले लगानीकर्ताहरू सुनमा आकर्षित भएका हुन् ।
विश्लेषकहरूका अनुसार, अमेरिकी राष्ट्रपति निर्वाचित भएका जो बाइडन र उनको टोलीले कोभिड-१९ संकटसँग जुध्नका लागि विभिन्न योजनाहरुको तयारी गर्दैछन् । फेडरल रिजर्भले कोरोना प्रताडित अर्थतन्त्र पुनरुत्थानका लागि नयाँ कदम चाल्ने अपेक्षा गरिएको छ । डेमोक्र्याट राष्ट्रपति बाइडनले आर्थिक पुनरुत्थानका कार्यक्रम घोषणा गरेको खण्डमा लगानीका अन्य अवसर सिर्जना भइ सुनको मूल्यमा क्रमशः गिरावट आउन सक्छ ।
यसअघि मध्य अगस्टदेखि बढीरहेको सुनको मूल्य सेप्टेम्बर यता डलर बलियो भएपछि सामान्य घटेको थियो । महामारीका कारण अर्थतन्त्रमा अनिश्चितता देखिएको र अर्कोतर्फ अगस्टको तुलनामा सुन केही सस्तो भएपछि लगानीकर्ताले यो समयलाई सुनमा लगानी गर्ने उपयुक्त अवसरका रुपमा लिएका छन् ।
नेपाली बजारमा भदौ १ मा सुनको मूल्यमा आजकै दर कायम भएको थियो । त्यसपछि क्रमशः वृध्दि भई एक लाख रुपैँया प्रतितोला नाघेको थियो । भदौ २ र ३ गते नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च एक लाख चार सय रुपैँया प्रतितोलामा कारोबार भएको थियो । एसियाली उदयमान बजारमा पनि सुनको माग बढीरहेको छ । भारतमा दीपवली कारण सुनको माग सामान्य बढेको छ ।
कोरोना भाइरस महामारीका कारण नेपाली बजारमा भने सुनको बजार गत वर्षको भन्दा १० प्रतिशत हाराहारीमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘यो वर्ष दीपावलीमा गत वर्षको तुलनामा २५ प्रतिशतसम्म पुग्ने अनुमान गरेका छौं,’ उनले भने । सुनको मूल्य बढीरहेको र महामारीका कारण आम्दानी प्रभावित भएसँगै बिक्री प्रभावित हुनसक्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया