अर्थ / बाणिज्य

विश्व बैंकले दिने भयो नेपाललाई १० अर्ब ऋण

इकागज |
असार २९, २०७९ बुधबार १४:६ बजे

काठमाडौँ - विश्व बैंकले नेपाललाई खानेपानी तथा सरसफाई क्षेत्रका लागि आठ करोड अमेरिकी डलर अर्थात् १० अर्ब रुपैयाँ ऋण दिने भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच आज आठ करोड अमेरिकी डलर (१० अर्ब नेपाली रूपैयाँ) बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक  फारिस हदाद(जर्भोसले हस्ताक्षर गरेका छन् । 'नेपालको संविधानमा उल्लेखित सङ्घीयताका सिद्धान्तहरू अनुरूप दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यले हाम्रा मुख्य प्राथमिकताहरु निर्देशित छन्'  हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले भने,  'यस आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।'


खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिने विश्व बैंकले जनाएको छ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाई सेवाहरूको पहुँच न्युन हुनु, गरिबी उच्च हुनुका साथै यी  प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा रहेको बैंकले जारी गरेको विज्ञप्तिमा छ ।

'यस आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाई सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशिल तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाई पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्नेछ', माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले भने ।

उक्त आयोजनाले उक्त दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाई सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्नेछ विश्व ब‌ैंकले जनाएको छ । आयोजनाले यस क्षेत्रको प्रादेशिक र संघीय सरकारका निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीहरूप्रति यस क्षेत्रको जवाफदेहितालाई पनि बलियो बनाउने विज्ञप्तिमा छ ।  यी कार्यक्रमका अतिरिक्त, यस आयोजनामा खानेपानी आपूर्ति र सरसफाई पूर्वाधारहरूको निर्माण र पुनर्स्थापना गर्नुका साथै पानीको गुणस्तर नियमन गर्ने सुविधाहरू र अनुगमन प्रणालीहरूमा समेत लगानी गरिने बैंकले जनाएको छ ।


Author

थप समाचार
x