अर्थ / बाणिज्य

दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी

नेपाल-भारतका अधिकारीबीच विराटनगर भन्सारसम्म मालबाहक रेल सञ्चालन गर्ने सहमति

बाबुराम भण्डारी |
साउन ९, २०७९ सोमबार ९:२५ बजे

विराटनगर - नेपाल र भारतका अधिकारीहरूले भारतको बथनाहबाट हाललाई मोरङको विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म मालबाहक (कार्गो) रेल सञ्चालन गर्न सहमति जनाएका छन् । आउँदो दशैंअघि नै कार्गो रेल सञ्चालनमा ल्याउने गरी नेपाल र भारतीय पक्षबाट तयारी अघि बढाइएको हो । 

निर्माणको अन्तिम चरणमा पुगेको बथनाह–कटहरी रेल्वे लाइनअन्तरगत भन्सार नाकाअर्थात् आइसीपीसम्म तत्कालै रेल सञ्चालन गर्ने विषयमा आइतबार उद्योग संगठन मोरङमा आयोजित बैठकमा दुवै देशका अधिकारीहरूले रेल सञ्चालनपूर्वको तयारी अघि बढाउने सहमति गरेका हुन् ।


रेल सञ्चालनको पूर्व तयारीका सम्बन्धमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगरदेखि कार्गो रेल अविलम्व सञ्चालनमा ल्याइने जानकारी दिए ।  चौधरीले १८ दशमलव ६ किलोमिटर लामो बथनाह–विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रकृया चाँडो पुरा गरी त्यसको १५ दिनभित्र कार्गो रेल सञ्चालनमा ल्याउन सकिने बताए । 

उनले जोगवनीमा रेल्वेको मर्मत केन्द्र निर्माण गर्न भारतीय रेल्वे मन्त्रालयमा बजेट माग गरिसकेको जानकारी दिंदै उक्त मर्मत केन्द्र निर्माण पश्चात मोरङको कटहरीसम्म विस्तार हुने यात्रुबाहक रेल सेवा समेतलाई फाइदा पुग्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले भारतको क्षतिग्रस्त मीरगञ्ज पुलका कारण वर्षौंदेखि नेपाल–भारत व्यापारमा असर पुग्दै आएको बताए । उनले पुलको अवरोधले गर्दा मालवाहक सवारी साधन रि–रुट गर्नुपर्ने समस्याको एकमात्र समाधान कार्गो रेल सञ्चालनबाट मात्रै पुरा हुने बताए । 

उनले मालबाहक गाडीहरू रि–रुट गरेर नेपाल ल्याउँदा मोरङ–सुनसरी औधोगिक क्षेत्रका दर्जनौं उद्योगहरूले ठूलो मात्रामा आर्थिक व्ययभार खेप्नु परेको बताए । बथनाह–विराटनगर कार्गो रेल चाँडो सञ्चालन गर्नका लागि छिटो आवश्यक समन्वय गर्न उनले नेपाल सरकारसँग समेत आग्रह गरे ।  कार्गो रेल सञ्चालन भएपछि मात्रै नेपाली उद्योगीहरूले राहत पाउने दाबी गरे ।

‘नेपाल–भारतबीचको व्यापार अभिबृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुनेछ’ उनले भने, ‘सानातिना व्यवधानलाई अविलम्ब समाधान गरी मालवाहक रेल्वे सञ्चालनमा ल्याउन सकिए उद्योगीहरूका लागि ठूलो राहत हुनेछ ।’ त्यसका लागि उद्योगी व्यवसायीहरूको क्षेत्रबाट समेत आवश्यक पहल गर्न उद्योग संगठन तयार रहेको बताए ।

छलफलका क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशीय व्यापार विस्तारका लागि कार्गो रेलको सञ्चालन अति नै महत्वपूर्ण रहेको बताए । उनले रेल सञ्चालन गर्न महानगरपालिकाका तर्फबाट खेल्नुपर्ने सवै भूमिका पूर्ण निर्वाह गरी सहयोग गर्ने प्रतिवद्धता जनाए । 

साथै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका छिटो सम्पन्न गर्न आफू प्रधानमन्त्री समक्ष पहल गर्न समेत तयार रहेको जानकारी दिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले रेल्वे निर्माणको क्रममा देखा परेका व्यवधानहरूलाई समाधानमा प्रशासनको तर्फबाट पूर्ण सहयोग गर्ने बताए । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले मीरगञ्ज पुलका कारण दुई देशबीचको आयात–निर्यात प्रभावित हुँदा मुलुकका लागि हुने राजश्व संकलन समेत प्रभावित हुने गरेको बताए । 

उनले रेल सेवा सञ्चालनमा ल्याउन नेपालस्थित कस्टम यार्डबाट गरिने सवै सहयोग अझ प्रभावकारी रुपमा गरिने बताए ।

नेपालस्थित रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुई देशका प्राविधिक टोलीले निर्माणाधिन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरेपश्चात विराटनगर–बथनाह रेल सञ्चालनमा आउने बताए ।

बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गो रेल सञ्चालन गर्न कुनै ठुलो अवरोध नरहेको ठहर एक वर्षअघि नै नेपाली अधिकारीहरूले गरेको स्थलगत निरीक्षणका क्रममा निश्कर्ष निकालिएको थियो । हाल विराटनगरका लागि कार्गो कन्टेनर बोकेर आउने भारतीय कार्गो रेल नेपालस्थित आइसिपीभन्दा ७ किलोमीटर दक्षिणमा पर्ने भारतको बथनाहमै रोकिन्छन् । 

त्यहाँबाट नेपाली उद्योगी व्यवसायीहरूले पुनः सामान अनलोड गराएर मालवाहक ट्रकमा राखेर आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता बन्दै आएको छ ।

बथनाहदेखि विराटनगर–१८ बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमिटरमा २०७६ कात्तिकमै रेलको इञ्जिन ल्याएर रेलको लिक परीक्षण गरिएको थियो । 

बथनाहबाट बुधनगरस्थित रेल स्टेशनसम्मको काम सकिएका कारण उक्त खण्डमा कार्गो रेल सञ्चालन गर्ने बिषयमा भारतीय दूतावासबाट खटिएका प्रतिनिधिहरूले समेत रेलमार्गको निरीक्षण गरेका थिए । 
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x