गुणस्तरहीन बस्तु उत्पादन गर्ने प्रदेश १ का १६ उद्योग र फर्मविरुद्ध मुद्दा
आठ वटालाई ५० हजारसम्म जरिवाना
तस्बिर : विराटनगरस्थित कार्यालयमा विभिन्न वस्तुको गुणस्तर मापन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक कर्मचारीहरू ।
विराटनगर - कम गुणस्तरीय खाद्यवस्तु उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पारेको भन्दै त्यस्ता १६ वटा खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । प्रदेश १ को झापा, मोरङ र सुनसरीका खाद्य उद्योगविरुद्ध खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दाअघि बढाएको हो ।
कार्यालयले ८ वटालाई अधिकतम् ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै थप २५ वटा उद्योगमाथि मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको जनाएको छ ।
खाद्य उद्योगहरूबाट उत्पादित खाद्यवस्तुको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा केहीको उत्पादन गुणस्तरहीन भेटिएको र केहीमा न्यून गुणस्तरीय खाद्यवस्तु पुष्टि भएको थियो ।
त्यस्ता उत्पादनले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने भन्दै उद्योगविरूद्ध प्रयोगशालाको रिपोर्टसहित कारबाहीको माग गर्दै अदालत र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा अभियोग दायर गरिएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए । गत आर्थिक बर्ष २०७८–७९ मा अन्य आठवटा उद्योगलाई बढिमा ५० हजार रुपैयाँसम्म जरिवाना गरेको जानकारी दिए ।
‘न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गर्ने र बिक्री गर्ने उद्योगहरूलाई प्रतिवादी बनाएर कारबाही अघि बढाएका छौं, जिल्ला अदालत र प्रशासन कार्यालयमा जरिवानाको मागदाबीसहितको मुद्दा दर्ता भइसकेको छ’ उनले भने ।
गत आवमा दर्ता भएका मुद्दाहरू भने विचाराधीन नै रहेको बताए । आर्थिक वर्ष २०७८–७९ मा नमूना संकलन गरेका मध्ये मोरङका सबैभन्दा बढी ९ वटा उद्योगले न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरेर बिक्री वितरण गरिरहेको पाइएको थियो । त्यस्ता उत्पादनलाई उद्योगीहरूले बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको कार्यालय प्रमुख रिजालले बताए ।
मोरङपछि सुनसरी र त्यसपछि झापाका उद्योगहरूले कम गुणस्तरीय उत्पादन गर्दै आएको अनुगमन र परीक्षणका क्रममा पुष्टि भएको हो । झापामा पाँचवटा उद्योगको उत्पादन न्यून गुणस्तरको पाइएको परीक्षणबाट पुष्टि भएको जनाइएको छ । सुनसरीमा दुई वटा उद्योगको उत्पादन न्यून गुणस्तरको भेटिएकोले ती उद्योगविरुद्ध अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख रिजालले बताए ।
न्यून गुणस्तरको खाद्यबस्तु उत्पादन गरी बिक्री गर्ने विराटनगर–१४ को बालाजी डेरी उद्योग, विराटनगर–५ को एक्वा एक्टिभ बेभरेज, विराटनगरकै सेन्ट्रल फुड एण्ड खाद्यान्न प्याकेजिङ, नेपाल बेलहोप एग्रिटेक प्रालि विराटनगरलाई जरिवानासहितको माग दाबी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी खेतान चिया उद्योगले उत्पादन गर्ने सिटिसी चियाको नमूना जाँच गर्दा न्यूनस्तरको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको जनाइएको छ । विराटनगरकै गृहलक्ष्मी फुड इण्डष्ट्रिजले उत्पादन गरेको सोया चङ्क्समा लेबल नभएको पाइएपछि १० हजार जरिवानाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख रिजालले बताए ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले दमक–९ मा रहेको पन्चकन्या फुड, बिर्तामोड–७ स्थित सोरुप फ्रेस नुडल्स, हिमालय फुड एण्ड स्नायक्स उद्योग, बुट्टाबारी टि प्राली र नेपाल चिया विकास निगम लिमिटेडविरुद्ध न्यून गुणस्तर खाद्यवस्तुको उत्पादन र विक्री वितरण गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
आव २०७८–७९ मा विराट गोल्छा घ्यू प्याकेजिङ उद्योग विराटनगरलाई न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरेको कसुरमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त उद्योगमाथि कसुरको सबुत प्रमाणसहित जिल्ला अदालत मोरङमा २०७७ माघमा दायर भएको मुद्दामा २०७८ साउनमा फैसला भएको थियो ।
त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले थप सातवटा फर्म र उद्योगहरूलाई जरिवाना गराएको जनाइएको छ । डिभिजन कार्यालयका अनुसार इटहरीको न्यू रानी किराना स्टोर्सका संचालक रामसेवक रायलाई न्यून गुणस्तरको मकैको पिठो विक्री गरेवापत ५० हजार, जय बालाजी फुड्स इण्डिष्ट्रिज इटहरीका संचालक विवेक अग्रवाललाई ५० हजार, बाबा फुड प्रोडक्टस्लाई २० हजार, पूर्वाञ्चल मिल्क फुड प्रालिलाई १० हजार, खनाल फुड प्रोडक्टस्लाई २ हजार, कोसी फिड प्रालि रामधुनीलाई २० हजार र दिव्येश्वरी जल उद्योग इटहरीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।
यसैबीच न्यून गुणस्तरको खाद्यान्न उत्पादन गर्ने २५ उद्योगविरूद्ध मुद्दा लगाउने तयारी भइरहेको जनाइएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै कम गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने र नाफा कमाउने मनसाय देखिएकोले ती उद्योग तथा फर्महरू विरुद्ध मुद्दाको तयारी अघि बढाइएको कार्यालयले जनाएको छ । त्यस्ता उद्योगहरू मोरङमा ९, सुनसरीमा ३, झापामा १, धनकुटामा ६ र उदपयुरमा ६ वटा रहेको जनाइएको छ । मुद्दा दर्ताका लागि नमूना परीक्षणको काम सकिएको छ । कसुर अनुसारको सजाय र जरिवानाको दाबीसहित अभियोजन तयार गरी मुद्दा दर्ताको प्रक्रियामा अघि बढेको रिजालले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया