अर्थ / बाणिज्य

संसदीय समितिमा सदस्य हेरफेर गर्न एमालेको पत्र

सेक्युरिटी प्रेससम्बन्धी मुद्दा नटुङ्गिँदै बाँस्कोटा लेखा समितिमा

इकागज |
चैत २९, २०७७ आइतबार १९:५७ बजे

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेले संघीय स‌ंसद्को प्रतिनिधि सभाका समितिहरूमा पार्टीका सांसदहरू थप्‍न स‌ंसद् सचिवालयलाई पत्राचार गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईद्वारा हस्ताक्षरित पत्रमा ७ समितिमा सांसदको नाम फेरबदल गरिदिन भनिएको छ । 

समिति परिवर्तन गरेर पूर्वसञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सार्वाजनिक लेखा समितिमा पुर्‍याइएको छ । उनको सेक्युरिटी प्रेस खरिदमा अनियमितताको फाइल लेखा समितिले छानबिन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । जहाँ मुद्दा छ, त्यही सांसदलाई पुर्‍याउनु अनौठो भएको संसद्सम्बन्धी जानकारहरू बताउँछन् । बाँस्कोटासँगै राजेन्द्र गौतमलाई पनि लेखा समितिमा ल्याइएको छ । 


प्रमुख सचेतक भट्टराईले एमालेको संसदमा भएको प्रतिनिधित्वको अनुपातमा हरेका समितिमा प्रतिनिधित्वको सुनिश्चितता हुने गरी सदस्यहरूलाई समिति परिवर्तन गरिदिन अनुरोध गरेका छन् । 

भट्टराईले कार्यव्यवस्था परामर्श समितिमा ६ सांसद थप्‍न भनेका छन् । थप्‍न सिफारिस गरिएका सांसदहरूमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरी छन् । संसदीय सुनुवाई समितिमा ५ जना थप्‍न सिफारिस गरिएको छ । निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राई छन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समिति वर्तमान अवस्थामा सांसदहरूको अतिरिक्त खेम लोहनी, महेश बस्‍नेत र दामोदर भण्डारीलाई थप्‍न भनिएको छ । 

महिला तथा सामाजिक समितिमा जानकी देवी रामलाई थप्‍न भनिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा घनश्याम भुसाल र योगेश भट्टराईलाई थप्‍न सिफारिस गरिएको छ । अर्थ समितिमा मोतिलाल दुगढलाई थप्‍न सिफारिस गरिएको छ । 


Author

थप समाचार
x