अर्थ / बाणिज्य

जनकपुर भन्सार कार्यालयको राजश्व ४६ प्रतिशत कम संकलन

इकागज |
भदौ ४, २०७९ शनिबार २१:५९ बजे

जनकपुरधाम - गएको आर्थिक वर्ष २०७८/०७९ मा जनकपुरधाम भन्सार कार्यालयले लक्ष्य अनुसार ४६ प्रतिशत कम राजश्व संकलन गरेको छ । 

प्राप्त जानकारी अनुसार सो कार्यालयले आ.व. ०७८/७९ मा ४८ करोड ५५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा मात्र ५४.३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।


भन्सार कार्यालय जनकपुरधामका प्रमुख प्रमोद दासले गएको आ.व. मा भन्सार कार्यालयले महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि कर तर्फ ९ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ ७ लाख १५ हजार राजस्व संकलन गरिएको जनाएको छ ।

के कति कारणले गएको आ.व. मा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिएन बारे कार्यालय प्रमुख दासले भने, `बैंकिङ्ग माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, राज्यबाट एलसी मार्फत मात्रै कारोबार गर्ने भनी थुप्रै सामानको आयातमा लगाइएको प्रतिबन्ध र राजश्व संकलन गर्ने समयमा नै स्थानीय तहको निर्वाचनले गर्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको हो ।`

हुन त कोरोना संक्रमणले गर्दा लकडाउनको अवस्थामा आ.व. ०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो । आव २०७७/७८ मा ५३ करोड ५१ हजार ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार संकलन भएको थियो ।

कोरोना संक्रमण व्याप्त रहेको अवस्थामा ८८ प्रतिशतभन्दा बढी राजश्व संकलन हुनु र अवस्था सामान्य भएको बेला किन कम भएको जिज्ञासामा प्रमुख दासले सो आ.व. मा रेल खरीद भएको कारण एक्कासी राजश्व संकलनको दर बढेको र केन्द्रीय निकायले गएको आ.व. मा रेल संचालनको सामग्री आयात हुने गरी लक्ष्य तोकेर पठाएकाले कमी हुन गएको बताए ।

उनले भने, `आ.व. ०७७/७८ मा रेल खरिदको राजश्व घटाउँदा गएको आ.व. ०७८/७९ भन्दा पनि कम हुन जान्छ । राज्यले एलसी प्रक्रिया हटाएमा र दुवै तर्फको सरकारले ट्रक आउने जाने गरी बाटो निर्माणमा गरेमा राजश्व संकलनमा अझै वृद्धि हुन सक्नेछ ।`

राजश्व संकलन कम हुनुको कारण भन्सार कार्यालयका कर्मचारी राजश्व संकलन भन्दा पनि चोरी पैठारीको सेटिङमा लागेको आरोप लाग्दै आएको बारे जिज्ञासा राख्दा प्रमुख दासले भने, `हामी कहाँ कर्मचारी संख्या पनि कम, २/३ किलोमिटरको फरक फरकमा सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको चेक पोष्ट छ यस्तो अवस्थामा हाम्रो सेटिङ हुने भन्ने आरोप गलत छ ।`

भन्सार कर्मचारीमाथि सेटिङ्गको आरोप लगाउनु भन्दा हामी भन्दा बढी जिम्मेवार संस्था आन्तरिक राजश्व कार्यालय हो सो निकायले जनकपुरधाम बजारमा व्यवसायीहरुको बिल भरपाई चेक गरेमा चोरी पैठारीबाट सामान कसरी आयो भन्ने कुरा आफै स्पष्ट हुने उनले बताए । `सुरक्षा चेक पोष्ट र राजश्व कार्यालय हुँदा हुँदै हामीमाथि सेटिङ्गको आरोप लगाउनु सरासर गलत हो`, उनले भने ।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छ वटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको छ ।


Author

थप समाचार
x