मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन हुने
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्ने बताएका छन् ।
आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने बताएका हुन् । उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलब्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने धारणा राखे ।
मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीतिलगायतका योजनाहरू सार्वजनिक गरे । त्यस्तै उनले कोरोनाबाट शिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको दाबी गरे । रुग्न उद्योगहरू सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ ।
मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दाबी गरे ।
उनले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया