हेटाैंडा सुरुङमार्गको काम सधैं सुस्त, तेस्रो पटक म्याद थपियो
मकवानपुर । सन् १९७४ सालमा बनेको दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बागमती प्रदेश सरकारको योजना ठेकेदारको ढिलाइको कारण समयमा पूरा हुन सकेको छैन ।
तोकिएको समयमा मर्मत गरेर सरकारी तवरबाट पुरस्कार लिने दाबीका साथ थालिएको काम समय सीमाभित्र नसक्दा तेस्रो पटक ६ महिना म्याद थप गरिएको छ । निरन्तर काम गर्दा गर्दै पनि नसकिएको भन्दै ३ महिनाको लागि म्याद थप गर्न माग गरेपछि बागमती प्रदेश सरकारले सुरुङ मार्गको मर्मत गर्ने समय सीमा गत वैशाखबाट साउन मसान्तसम्म थपेको थियो । फेरि पनि काम नसकिएपछि एकैचोटी ६ महिनाको लागि म्याद थप गरिएको छ ।
अब पुस मसान्तसम्मको लागि म्याद थपिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले भने ।
मकवानपुरको हेटौंडा १५ स्थित सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाले पूर्णता नपाएपछि सरकारी काममा समेत आशंका सुरु भएको छ । बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न यो सुरुङमार्ग राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो ।
लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिंदै बजेट छुट्याएका थिए । मर्मत तथा संरक्षणका लागि २०७८ साल साउनबाट पुनः निर्माण थालिएको सुरुङ मर्मतको काम अझै सकिएको छैन । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । “खासै काममा रोकावट केही छैन, काम गरिरहेकै छौं, भ्याइएको छैन” ठेकदार झमक लामाले भने ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।
सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्गको भित्री पाटो अझै छिचोल्न बाँकी छ । सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहनेछ । प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक रेग्मीका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा अन्तिम पटक आगामी पुससम्मको लागि थपिएको छ ।
सुरुङ पुनर्निर्माणको काम हालसम्म ७० प्रतिशत सकिएको ठेकदार कम्पनीले जनाएको छ । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ ।
सन् १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको थियो ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो” पौडेलले भने ।
हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । “यो स्थान इञ्जिनियरिङ्गको विद्यार्थीका लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने ।
हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ । “ठूलै आशाका साथ मर्मतकाम सुरु गरेका थियौ, काम सुस्त गतिमा किन छ सरकारले अनुगमन गर्ने पाटोमा ध्यान दिइन की” पौडेलले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया